
सन्तोष शर्मा
बनियानी, २ जेठ । झापा कनकाई नगरपालिकाका पशुपालक कृषक पशु बीमावापतको रकम पाएपछि दंग परेका छन् । पशु बीमा गराएका कृषकले पशुको मृत्यु भएपछि बीमावापतको रकम पाएपछि दंग भएका हुन् ।
कनकाई–८ का प्रेम कार्कीले रू १२ हजारको बाख्राको बीमा गरेकोमा रू १० हजार आठ सय पाएको बताउनुभयो । “पशु बीमा नगरेको भए घाटा लाग्थ्यो होला, बीमा गरेकाले घाटा लागेन, बीमा रकम पाएकोमा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “मैले सबै गाईवस्तुको बीमा गराएको छु ।”
त्यस्तै, अर्का कृषक दिपककुमार पाण्डेले पाठाको रू १३ हजारको बिमा गराउनुभएकोमा बीमा वापतको रकम पाउनुभएको छ । उहाँले अन्य कृषकले पनि सरकारले ल्याएको पशु बीमा कार्यक्रममा सहभागी हुनुपर्नेमा जोड दिनुभयो ।
कनकाईमा कनकाई नगरपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र अभियान नेपालको सहजीकरणमा साझेदारीमा कृषि तथा पशुपालन उद्यमशीलता विकास परियोजना अन्तरगत पशु बीमा कार्यक्रम सञ्चालन भइरहेका छ ।
कार्की र पाण्डे जस्तै कनकाईका पशु पालक कृषकले रू छ हजार तीन सयदेखि रू एक लाख ३६ हजारसम्म पशु बीमा वापतको रकम पाएका छन् । नगरपालिकाले बीमा गरेका ३७ वटा पशुको कूल रू १० लाख ५७ हजार सात सय बीमा रकम कृषकलाई प्रदान गरिएको हेफर प्रोजेक्ट नेपालकी कर्मचारी चन्दा सिटौलाले जानकारी दिनुभयो ।
कनकाई नगरपालिकाले सरकारले लागू गरेको पशु बीमा अन्तरगतको पशु बीमा गर्न चाहने कृषकको बीमा वापत ७५ प्रतिशत रकम व्यहोर्ने गरेको छ । सरकारले लागू गरेको पशु बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन र कृषकहरुलाई पशु बीमा कार्यक्रममा सहभागी गराउन नगरपालिकाले बीमा रकममासमेत अनुदान दिइरहेको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो ।
“कृषकलाई पशुपालनमा प्रोत्साहन गर्न र केही भइहाले त्यसवापतको राहत दिन नगरपालिकाले सरकारको नीति अनुरुप थप सहयोग गरिरहेको छ”, उहाँले भन्नुभयो, “पशु बीमा कार्यक्रमबाट केही कृषकले लाभ लिइरहनुभएको छ, केहीले लिनुभएको छैन, सबै कृषकलाई पशु बीमा गराएर सुरक्षित र व्यावसायिक पशुपालन गर्न म आग्रह समेत गर्दछु ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



