
बिर्तामोड, २८ जेठ । झापाको बिर्तामाोड नगरपालिकाले पशुपालन व्यवसायमा आबद्ध किसानलाई तालिम दिएको छ ।
बिर्तामोड नगरपालिकाको पशुपंछि तथा मत्स्य विकास शाखाले विभिन्न प्रकारका तीन वटा तालिम दिएको हो । नगरपालिकाले व्यवसायिकरुपमा बाख्रा पालन, गाई पालन र पशु आहार व्यवस्थापन साइलेज, हे र मिनिरल ब्लक बनाउने तालिम सञ्चालन गरेको थियो । गाई, बाख्रा पालन सम्बन्धि एक एक दिन र पशु आहार व्यवस्थापन सम्बन्धि दुई दिन तालिम सञ्चालन गरीएको शाखा अधिकृत सावित्रा दाहालले जानकारी दिनुभयो ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईले तालिममा सिकेका कुरालाई बेवास्ता नगरी हुवहु कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । आधुनिक तवरले पशुपालन व्यवसाय सञ्चालन गर्नुपर्ने भन्दै उहाँले यस तालिममा छुटेकाहरुलाई आगामी कार्यक्रममा सहभागी गराउने बताउनुभयो । नगरपालिकाका जिन्सी शाखा प्रमुख मेघराज बाँस्तोला र पशु विज्ञ तथा तालिम प्रशिक्षक डाक्टर कमलेश्वर भाटले सहभागीहरुले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
बिर्तामोड–७ का कृषक सागर ढकालले नगरपालिकाले प्रदान गरेको यस तालिमबाट धेरै कुराको ज्ञान लिएको बताउनुभयो । उहाँले आफुले सिकेको सिप तालिममा सहभागी नभएकाहरुलाई पनि सिकाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषक ढकालले पशुपंछि तथा दुधमा बिर्तामोडलाई आत्मनिर्भर बनाउन सहकार्य गरेर अघि बढ्ने समेत बताउनुभयो ।
बिर्तामोड नगरपालिकाले व्यवसायिक रुपमा कृषि तथा पशु पालन गर्दै आएका कृषकहरुको लागि विभिन्न प्रकारका सहयोगसमेत उपलब्ध गराउँदै आएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



