
प्रकाश उप्रेती
बिर्तामोड, १ असार । झापा मेचीनगर नगरपालिका–१४ का ५७ वर्षीय किसान डिल्लीराम खतिवडा यतिबेला नयाँ प्रविधिबाट मल उत्पादन गर्न सिकाइरहनुभएको छ ।
रासायनिक मलको विकल्पमा खतिवडाले ‘ओर्जिनल वेस्ट डिकम्पोजर’ (ओडब्ल्यूडीसी) प्रविधिबाट आग्र्यानिक मल उत्पादन गर्न किसानलाई सिइकारहेका छन् । रासायनिक मलको वैकल्पिक स्रोतको खोजी गर्दै आउनुभएका उहाँले स्वअध्ययन र विज्ञहरुबाट यो प्रविधि सिकेको बताउनुहुन्छ ।
किसानले प्रयोग गर्ने युरिया, डिएपी, पोटास लगायतका रासायनिक मलको वैकल्पिक प्रयोगका लागि ओर्जिनल वेष्ट डिकम्पोजर मार्फत आग्र्यानिक मल उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । “हाम्रै वरपर पाइने कुहिने चिजहरुमा केही थप गरेर गुणस्तरीय मल उत्पादन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “मैले अहिलेसम्म सात पटक बनाइसकेँ, सिक्न चाहनेहरुलाई सिकाउँदै आएको छु ।”
जंगलमा कसैले मलजल, गोडमेल र सिँचाइ नगरे पनि बोट बिरुवा राम्ररी हुर्कने गरेको बताउँदै उहाँले सोही प्रकृतिबाट खेतीपाति यो मलको प्रयोगबाट लाभ लिन सकिने उहाँको दाबी छ । “खरानी, पिना, कुहिने वनस्पतिहरुको मात्रा मिलाएर मल बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “थोरै खर्चमा राम्रो अग्र्यानिक मल बनाउन सकिन्छ ।”
झापाको मेचीनगर, भद्रपुर, कचनकवलका केही किसानले यो प्रविधिबाट मल उत्पादन गरेर प्रयोग गरिरहेको उहाँको भनाइ छ । आफूसहित पाँच जनाको समूहले ७७ वटै जिल्लामा यो प्रविधिप्रति किसानलाई जानकारी गराइरहेको उहाँले बताउनुभयो ।
छिमेकी मुलुक भारतमा यो प्रविधि फस्टाउँदै गएको उहाँले बताउनुभयो । नेपालमा पनि यो प्रविधि अपनाउनुको विकल्प नरहेको उहाँको भनाइ छ । आफैंले मल बनाएर कृषि उत्पादनमा प्रयोग गरेर राम्रो उत्पादन लिन सफल भएको खतिवडाले बताउनुभयो ।
ओर्जिनल वेस्ट डिकम्पोजर प्रविधिबाट उत्पादित मलको प्रयोगले माटो ऊर्वर शक्ति बढ्ने, किसान आफैं मेहनत गरे मल उत्पादन गर्न सक्ने र रासायनिक मल प्रयोग गरेभन्दा बढी कृषि उत्पादकत्व बढाउन सकिने खतिवडा बताउनुहुन्छ ।
“आफूलाई मात्र खान भए पनि अग्र्यानिक उत्पादन गरौं र आत्मनिर्भर बनौं भन्ने उद्देश्यले एक्लै अघि बढें”, उहाँले भन्नुभयो, “अहिले कृषि पेशामा आबद्ध किसानलाई सहयोग गर्दै आएको छु ।” कृषि र किसानका लागि राम्रो हुने बुझेर अभियानकै रुपमा अघि बढे पनि सरकारी पक्षबाट कुनै चासो र सहयोग नमिलेको उहाँको भनाइ छ । “धेरै सरकारी निकाय र कृषि विज्ञसँग कुरा राखें”, उहाँले भन्नुभयो, “तर, कसैले चासो दिनुभएन ।”
सरकारले कृषि क्षेत्रको विकासका लागि अनेक प्रयास गरिरहेका बेला यो विधिलाई थप अध्ययन र पुष्टि गरेर प्रयोगमा ल्याउन सके कृषि क्षेत्रमा ठूलो फड्को मार्न सकिने उहाँले सुनाउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



