
चन्द्र बस्नेत
कनकाई, १२ असार । झापाको कनकाई नगरपालिकाले चैते धान रोप्ने कृषकलाई सोमबारदेखि प्रोत्साहन रकम वितरण शुरु गरेको छ । नगरका सबै वडाका चैते धान रोप्ने कृषकलाई प्रोत्साहन स्वरूप राहत रकम दिन सुरु गरेको नगर कृषि शाखाले जनाएको छ।
नगरपालिकाको सभाहलमा वडा नं. १ का कृषकलाई राहत रकम प्रदान गर्दै नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिका सधैं कृषकको साथमा रहेको बताउनुभयो । नगरपालिका परिसरमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाका नगरप्रमुख पोखरेलले चैते धान रोप्ने कृषकलाई राहत रकम हस्तान्तरण गर्दै चैते धान रोप्ने नगरबासीलाई केही मात्रामा भए पनि स्थानीय सरकारको प्रत्याभूति होस् भनेर राहत रकमप्रदान गरिएको बताउनुभयो ।
“बजेट अभावमा नगरका धेरै काम हुन सकेको छैन”, उहाँले भन्नुभयो, “तर पनि नगर तथा वडाको बजेटलाई प्राथमिकतामा राखेर सकेसम्म जनताका आवश्कयता पूरा गर्न लागिपरेका छौं ।” उहाँले अघिल्लो साल त्यस्तो सुरुवात नगरे पनि यो पटकबाट भने गाउँघरमा स्थानीय सरकार भएको अनुभव दिलाउने गरी उत्पादनमा जोड दिन समेत यो वर्ष कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी बजेट बिनियोजन गरेको नगर प्रमुख पोखरेलले जानकारी दिनुभयो । यस अघि पनि नगरले किसानलाई निःशुल्क धानको बिउm उपलब्ध गराएको थियो ।

यसअघि पनि नगर तथा वडाले हावाहुरीसहितको असिना पानीले घरमा क्षति पुगेका परिवारलाई थोरै भए पनि राहत होस् भनेर राहत रकम नगद प्रदान गरिएको वडाध्यक्ष सुशीलकुमार पोखरेलले बताउनुभयो । वडा अध्यक्ष सुशीलकुमार पोखरेलको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, विशिष्ठ अतिथि कृषि शाखा प्रमुख यदुकुमार उप्रेती, कृषि अधिकृत प्रियंका गौतम, वडा सदस्य निर्मला खड्का, हरिकुमार राई, दलबहादुर थापा, संजिता घतानी ल्वागुन, कर्मचारी अङ्किता खड्का, निर्मला बानियाँ लगायतको उपस्थिति रहेको थियो ।
वडाका ८७ घर परिवारलाई प्रोत्साहन रकम प्रदान गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै वडा अध्यक्ष पोखरेलले आर्थिक वर्षको बजेट केही कमी भए पनि कृषि लगायत सबै क्षेत्रमा प्राथमिकता राखेर वडाको बजेट विनियोजन गरेको जानकारी गराउनुभयो । कृषि शाखा प्रमुख उप्रेती, अधिकृत गौतम लगायतले शुभकामना राखेको कार्यक्रमको स्वागत वडा सदस्य हरिकुमार राई र सञ्चालन वडा सदस्य निर्मला खड्काले गर्नुभएको थियो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



