
अर्जुनधारा, १५ असार । झापाको अर्जुनधारामा २०औं राष्ट्रिय धान दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाइएको छ ।
“जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” भन्ने मुख्य नारासहित नगर कृषि विकास शाखाको आयोजना र अर्जुनधारा–८स्थित अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा अर्जुनधारा–४ स्थित कृषक राजेन्द्र निरौलाको खेतमा विविध कार्यक्रम गरि मनाइएको हो ।
संस्थाका अध्यक्ष प्रत्युस रानाको अध्यक्षता र नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उत्कृष्ट कृषक सम्मान, खुल्ला पुरुष तथा महिला हिले दौड प्रतियोगिता, खुल्ला छात्र र छात्रा हिले दौड प्रतियोगिता, अर्जुनधारा–९स्थित पाथीभरा नौमती बाजा समूहबाट नौमती बाजासहितको बेठी नाच तथा पञ्चकन्या संगिनी समूहबाट संगिनी नृत्य प्रस्तुत गरिएको थियो ।
उत्कृष्ट कृषक अन्र्तगत बैमौसमी–मौसमी तरकारी खेतीतर्फ अर्जुनधारा–१ निवासी युवराज कार्की, प्रमुख खाद्यान्न बालीहरु धान, मकै र गहुँ खेतीतर्फ अर्जुनधारा–४ निवासी उमानाथ हुमागाईं र व्यावसायिक तरकारी खेतीतर्फ अर्जुनधारा–९ निवासी नारद पौडेललाई जनही नगद पुरस्कार पाँच हजारसहित सम्मान पत्रबाट पुरस्कृत गरिएको अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष छत्र पौडेलले जानकारी दिए ।
त्यसैगरी खुल्ला पुरुष हिले दौडतर्फ प्रथम छविलाल दुलाल, द्वितीय हेमचन्द्र भट्टराई र सान्तवना लेखनाथ प्रसाईं, महिलो हिले दौडतर्फ प्रथम विष्णु भूजेल, द्वितीय मनिसा भण्डारी र सान्तवना हरिमाया दाहाल भएका थिए । त्यस्तै छात्रतर्फ प्रथम रोहित दनुवार, द्वितीय राहुल थापा र तृतीय ऋचन ढकाल तथा छात्रातर्फ प्रथम रोसीका ओली, द्वितीय चन्द्रा सुवेदी र तृतीय समिक्षा थापा भएका थिए ।
बेठी नाच र संगिनी नृत्यसहित सुरु भएको रोपाईं कार्यक्रममा कृषक निरौलाको १० कठ्ठा जमिनमा रोपाईं गरिएको थियो । रोपाईं कार्यक्रममा नगर प्रमुख गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, कार्यपालिका सदस्य कौशिलाल परियार, अर्जुनधारा–४का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, ७ का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, १० का वडाध्यक्ष भूपेन्द्र न्यौपाने, नगर सभा सदस्य एवम् न्यायिक समितिका सदस्य तुम्मनाथ काफ्ले लगायतको सहभागिता रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



