झापा, २६ पुस । शैक्षिक सत्र २०८० को एसईई परीक्षा आगामी चैत पहिलो साताबाट सुरु हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यस वर्ष एसईई हुँदैन कि भन्ने भ्रममा नपर्ने सबैलाई आग्रह गरेका छन् । संसद्मा विचाराधिन अवस्थामा रहेको शिक्षा विधेयकमा कक्षा १० को परीक्षा उल्लेख नरहेकाले यो वर्ष एसईई हुने वा नहुने भन्ने अन्योलका बीच अध्यक्ष शर्माले यस्तो जानकारी दिएका हुन् ।
यस वर्षको लागि एसईई परीक्षामा सहभागी हुन ४ लाख ८९ हजार ४४४ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेका बोर्डले जनाएको छ । यो वर्ष पहिलो पटक नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुने र विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत अंक हासिल गर्नु पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
‘यस वर्षदेखि एसईईमा हरेक विषयमा ३५ प्रतिशत अंक नल्याए कक्षा–११ मा भर्ना हुन नपाइने र अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अंक नल्याएमा ननग्रेड) हुने उनले बताए ।