झापा, २६ बैशाख । कोशी प्रदेशका खानेपानी, सिञ्चाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले मानवीय संशासनको विकासमा लाग्नुपर्ने बेला आएको बताउनुभएको छ ।
झापाको कनकाई नगरपालिकाको १२ औं स्थापना दिवसको अवसरमा नगरलाई स्थानीय शासनयुक्त बालमैत्री तथा पूर्ण खोप सुनिश्चित नगर घोषणा गर्न बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले त्यस्तो बताउनुभएको हो ।
“अब बाटो होइन, बाटोमा हिँड्न सक्ने मान्छे बनाउन लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “मानवीय संशाधनको विकासमा सरकार लाग्नुपर्छ ।” संविधान प्रदत्त सम्पूर्ण अधिकार नागरिकले पाउनुपर्ने उल्लेख गर्नुहुँदै मन्त्री कार्कीले हरेक बालबालिकाले पाउनुपर्ने नैसर्गिक अधिकारको प्रत्याभूति सरकारले गर्नुपर्नेमा जोड दिनुभयो ।
“कुनै बालबालिकाले पढ्न लेख्न पाएन भने त्यसको ग्यारेन्टी सरकारले गर्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यस्ता बालबालिकाका बारेमा जानकारी गराउनुहोस्, उनीहरुलाई पढाउने लेखाउने जिम्मा सरकारको हो ।”
मुलुकमा केही भएन भनेर पूर्वाग्राही रुपमा विश्लेषण गरेर भ्रम फैलाउने काम भइरहेको चर्चा गनुहुँदै मन्त्री कार्कीले मुलुकले विकासको गति समातिसकेको बताउनुभयो ।
“मुलुकमा गणतन्त्र प्राप्त भएको आठ वर्षमै धेरै विकास भएको छ”, उहाँले भन्नुभयो, “दुई सय ५० वर्ष अगाडि नै स्वतन्त्र भइसकेको मुलुकको जस्तो अपेक्षा गर्नु पनि हुँदैन ।”
कानून निर्माणको अभावमा गर्न चाहेर पनि कतिपय काम गर्न नसकिएको मन्त्री कार्कीको भनाइ छ । अहिले तीन सय वटाभन्दा बढी कानून निर्माणको प्रक्रियामा रहेको बताउनुहुँदै मन्त्री कार्कीले भन्नुभयो, “अहिलेसम्म कोशी प्रदेशको खानेपानी ऐन छैन, भर्खर छलफल भएर निर्माण हुने चरणमा छ ।”
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बराल, शिवसताक्षी नगरपालिका नगर प्रमुख मेघाहाङ थोप्रा (रोशन), नेपाली कांग्रेस नगर सभापति दुर्गा प्रसाईं लगायतले मन्तव्य राख्नुभएको थियो ।
नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने गर्नुभएको थियो भने उपप्रमुख आशा शर्मा शिवाकोटीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
सरकारले निर्धारण गरेको ५१ वटा सूचकमा दुई स्थानीय सूचक थप गरी ५३ सूचकहरू पूरा गरेर कनकाई नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ । बालमैत्री नगर घोषणाको अवसरमा विभिन्न जातजातिको झाँकीसहित नगर परिक्रमा गरिएको थियो । कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य रिता उप्रेती र वडा सदस्य निर्मला खड्काले संयुक्त रुपमा गर्नुभएको थियो ।

