
काठमाडौँ, २७ वैशाख । आइसीसी महिला टी–२० विश्वकपको एसिया छनौट अन्तर्गतको खेलमा नेपालले बहराइनमाथि ९ विकेटको जित हात पारेको छ ।
वर्षाका कारण ५–५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४।२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । बहराइनले दिएको ४२ रनको लक्ष्य पछाएको नेपालले ४।२ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य भेट्टायो । नेपालको जितमा कविता कुँवरले १८ तथा सम्झना खड्काले अविजित १८ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले ५ ओभरमा एक विकेट गुमाउँदै ४१ रन बनायो । बहराइनका लागि कप्तान दीपिका रसानगीकाले सर्वाधिक ३४ रन बनाएकी थिइन् ।
नेपाली बलर पूजा महतोले एक विकेट लिएकी थिइन् । अब नेपालले अर्को खेल मे १३ मा हङकङ चाइना र मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ ।
कुल ९ देशले भाग लिने यस एसिया छनौटमा नेपाल समूह सी मा रहेको छ । नेपालको समूहमा बहराइन र हङकङ रहेका छन् । एसिया छनौटको समूह ए मा भुटान कुवेत र थाइल्याण्ड रहेका छन् भने समूह बी मा मलेसिया, कतार युएई रहेका छन् ।
समूहमा हरेक टिमले एक अर्का विरुद्ध २–२ खेल खेलेपछि समूह विजेता ३ देशले फाइनल राउण्ड खेल्ने छन् । फाइनल राउण्डमा एक अर्का विरुद्ध खेलेपछि शिर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् ।

