झापा, २ जेठ । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको छ ।
आज न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै मिश्रलाई उनका कानुन व्यवसायीको जिम्मा लगाएर तत्काल रिहा गर्न आदेश गरेको हो । मिश्रका तर्फबाट श्रीमती सारिका कार्कीले मंगलबार बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
शुक्रबार सर्वोच्चले थुनामुक्त गर्न आदेश गर्दै मिश्रसँग सम्बन्धित अधिकांश प्रमाण संकलनको कार्य सम्पन्न भइसकेको देखिएको र थप प्रमाण संकलन गर्नुपर्ने भएमा संकलन गर्न नसकिने अवस्था पनि नरहेको उल्लेख गरेको छ । तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा गत चैत १५ गते पक्राउ परेका मिश्रले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र थुनामुक्त भएसँगै चैत १५ को घटनामा ज्यान गुमाउनेप्रति श्रद्धान्जली व्यक्त गर्दै उक्त घटनाको योजना आफुले नगरेको बताए । उनले यस घटनामा राज्य आफविरुद्ध लागेको स्पष्ट भएको उल्लेख गरे ।
उनले आफुले राजसंस्था पुनर्स्थापनाका लागि काम गरेकै तर संगठित अपराध, राज्यविरुद्धको कसुर र अपराधिक उपद्रवको काम केही नगरेको बताए । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजवादीले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको भन्दै प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो । मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

