
सन्तोष शर्मा
झापा, १४ जेठ । इलामको रोङ गाउँपालिका यति बेला चर्चामा छ । कृषि क्षेत्रमा गरिएका कामका कारण रोङ यतिबेला चर्चामा रहेको हो ।
कृषिलाई समृद्धिको सारथिको रुपमा लिएर गाउँपालिका तीन खम्बे कृषि नीतिका साथ अघि बढेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) बताउनुहुन्छ । कृषि नीतिमा उत्पादन, प्रशोधन र बजारीकरणलाई राखिएको उहाँले बताउनुभयो ।
“अहिले उपभोक्ता ब्राण्डका पछि दौडिरहेका छन्”, उहाँले भन्नुभयो, “हामीले हाम्रा उत्पादनलाई ब्राण्डिङ गर्न जरुरी छ ।” रोङ गाउँपालिकामा उत्पादित कृषिजन्य उत्पादनलाई ‘रोङ’ नामले ब्राण्डिङ थालिएको अध्यक्ष स्याङ्वोले बताउनुभयो ।

गाउँपालिकाले अहिले कृषकले उत्पादन गरेको उत्पादनलाई प्रशोधन गरेर बजारीकरण गरिरहेको छ । चिया, गुन्द्रुक, करेला, बेसार, सिस्नो, महलाई रोङ ब्राण्डबाट बजारीकरण गरिरहेको छ । अन्य कृषि उपजहरुलाई समेत क्रमशः ब्राण्डिङ गरिँदै लगिने भएको छ ।
“कृषकले उत्पादन गरेको कृषि वस्तुले राम्रो मूल्य पाएसम्म बजारमा बेच्नु हुन्छ”, अध्यक्ष स्याङ्बोले भन्नुभयो, “बजार र मूल्य अभाव भएका बेला कृषकले उत्पादन गरेको वस्तुमा ‘भ्यालु एड’ गरेर बजारीकरण गरिरहेका छौं ।”
करेलाको तीन सय केजी सुकुटी, एक हजार दुई सय केजी रायो सागको गुन्द्रुक, तीन सय केजी धुलो बेसार, आठ सय केजी सिस्नोको धुलो, दुई हजार केजी चिया उत्पादन गरिएको गाउँपालिका अध्यक्ष स्याङ्वोले बताउनुभयो । “करेला बिक्री भइसक्यो”, उहाँले भन्नुभयो, “अरु उत्पादन पनि बिक्री भइरहेको छ ।” बेसारको बिऊ उत्पादन कार्य भइरहेको उहाँले बताउनुभयो ।
कृषिवस्तु प्रशोधनमा मात्र गाउँपालिकाले रू एक करोड ५० लाख लगानी गरेको छ भने उत्पादनमा रू एक करोड लगानी गरेको छ । तीन वटा प्रशोधन उद्योग निर्माण भइरहेका छन् ।
शुरुवाति चरणमा रहेकाले आजको भोलि प्रतिफल नदेखिने उहाँले बताउनुभयो । हाल उत्पादित कृषि वस्तु स्थानीय बजारमा खपत भइरहेका छन् ।
सहकारी मोडलबाट काम
गाउँपालिकाले सहकारी मोडलबाट कृषिवस्तुको प्रशोधन र बजारीकरण गरिरहेको छ । कृषकले उत्पादन गरेका कृषि उपजलाई सहकारीमार्फत् खरीद गरी प्रशोधन गरेर बजारीकरण गरिएको छ । सहकारीमा सबै कृषक सदस्य रहने छन् । उनीहरुले नै उत्पादन गरेका वस्तु सहकारीमार्फत् प्रशोधन र बजारीकरण हुन्छ । बजारीकरणबाट प्राप्त लाभ पनि कृषकले नै पाउने छन् ।
किसान गुरु योजना
गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिछेद ३ को उपदफा (ण) सम्बन्धित रहेर ‘गुरु किसान कार्यविधि–२०८०’ जारी गरी कार्यान्वयनमा ल्याएको छ । जस अन्तरगत एक सय २१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर तालिम समेत दिएको छ ।
गाउँपालिकाका अध्यक्ष स्याङ्बोले भाषण गर्ने नभई काम गर्ने किसानलाई गुरु किसानमा समेटिएको बताउनुभयो । “पहुँचका आधारमा अनुदान खाने किसान धेरै भए”, उहाँले भन्नुभयो, “वास्तविक किसानलाई नै लक्षित गरेर काम गरिरहेका छौं, उहाँहरुलाई सबै कुरामा अब्बल बनाउँछौं ।”



