
सन्तोष शर्मा
झापा, २८ जेठ । झापाको अर्जुनधारा नगरपालिकामा कृषि क्षेत्रमा लगानी गर्न चिनिया राजदूत चेन सोङ्गले अवलोकन भ्रमण गर्नुभएको छ ।
कृषि क्षेत्रमा लगानी गर्नका लागि राजदूत सोङ्गले यहाँका विभिन्न स्थानको अवलोकन भ्रमण गर्नुभएको हो । राजदूत सोङ्गले मंगलबार अर्जुनधारा–१० कालिझोडास्थित मुढा बनाउने उद्योग, अर्जुनधारा–२ स्थित टपरी उद्योग बनाउने उद्योगको अवलोकन भ्रमण गर्नुभएको छ ।
आज बुधबार अर्जुनधारा–६ स्थित गाई फर्म र अर्जुनधारा–१० स्थित माछा फर्मको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको सभामुख देवराज घिमिरेका स्वकीय सचिव केशव ढुंगेलले जानकारी दिनुभयो । “उहाँहरुले लगानीको सम्भावित क्षेत्रको अवलोकन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “उपयुक्त ठाउँमा लगानी गर्ने प्राप्त विश्वास छ ।”

१९ सय विद्यार्थीलाई सहयोग
बिर्तामोड र अर्जुनधारा नगरपालिकाका एक हजार नौ सय विद्यार्थीलाई चिनिया राजदूत चेन सोङ्गले सहयोग गर्नुभएको छ । मंगलबार अर्जुनधारास्थित शनिश्चरे माविका १५ सय र बिर्तामोडस्थित दुर्गा माविको चार सय जना विद्यार्थीलाई विभिन्न १९ प्रकारका शैक्षिक सामग्रीसहितको ब्याग वितरण गर्नुभएको छ ।
चिनियाँ राजदूतावासको सहयोगमा बिर्तामोड–८ स्थित शुक्रराज आधारभूत विद्यालयमा रू ५० लाखको लागनमा निर्माण भएको ४ कोठे २ तले भवन निर्माण भएको भवनको राजदूत सोङ्ग र बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गर्नुभएको छ ।
राजदूत सोङ्गले शिक्षा सबैभन्दा महत्वपूर्ण विषय भएकाले विशेष ध्यान दिनुपर्ने बताउनुहुँदै चीनको विकास शिक्षाकै कारण भएको उल्लेख गर्नुभयो । सोङ्गले नेपाल र चीनको सम्बन्ध पुरानो रहेका बताउनुहँदै २०७२ सालमा आएको भूकम्पपछि नेपालमा विभिन्न १० वटा विद्यालय निर्माणमा सहयोग गरेको बताउनुभयो ।
विद्यालय भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख प्रसाईंले बिर्तामोडको विकासका लागि पूर्वाधार, कृषि, शिक्षा लगायतका क्षेत्रमा चिनियाँ दुतावासले सहयोग पुर्याएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



