
झापा, १० असार । एसीसी पुरुष यू-१६ इस्ट जोन कप अन्तर्गत मलेसियामा जारी एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित हासिल गरेको छ। मंगलबार जापानविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भयो।
जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो। जय थापा सुरुवाती विकेटका रूपमा आउट भएपछि, प्रसिद्ध जैसी (३३) र शिवांश बजगाईं (३८) ले ६९ बलमा ७६ रनको अविजित साझेदारी गर्दै सहज जित सुनिश्चित गरे।

यसअघि बलिङतर्फ शुभमको उत्कृष्ट प्रदर्शनले जापानलाई ३४.३ ओभरमा ८० रनमा समेटियो। उनले १० ओभरमा ३ मेडन राख्दै १५ रन खर्चिएर ५ विकेट लिए। अभय यादवले २ विकेट लिए भने सुशील रावल र विपिन शर्माले एक–एक विकेट झारे।
जापानको यो प्रतियोगितामा पहिलो हार हो। समूह ‘ए’ अन्तर्गत नेपाल शीर्ष स्थानमा उक्लिएको छ र आइतबार इन्डोनेसियाविरुद्ध खेल्ने तयारीमा छ। समूह चरणको अन्तिम खेल जुलाई १ मा भुटानसँग हुनेछ।
सेमिफाइनलमा स्थान बनाउन शीर्ष दुई स्थानमा रहनुपर्नेछ।

