
झापा, १३ असार । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।
विभागका महानिर्देशक प्रकाश सञ्जेलका अनुसार वर्षे र चैते दुवै मिलाएर ५९ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ। अघिल्लो वर्षको तुलनामा खेती क्षेत्र १.२८ प्रतिशतले घटे पनि उत्पादकत्वमा सुधार आएपछि कुल उत्पादन ४.०४ प्रतिशतले वृद्धि भएको जनाइएको छ।
सरकारी तथ्यांकअनुसार, मुलुकलाई आवश्यक पर्ने करिब ७० लाख मेट्रिक टन धानमध्ये करिब १० लाख मेट्रिक टनको अभाव छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ७ लाख ५३ हजार मेट्रिक टन धानजन्य वस्तु (धान, बीउ, चामल, कनिका) आयात गरिएको छ, जसबाट करिब ३८ अर्ब ९४ करोड रुपैयाँ विदेश गएको छ।
महानिर्देशक सञ्जेलले नेपाल कृषि अनुसन्धान परिषदबाट धानका १४० भन्दा बढी जातहरू दर्ता भइसकेका जानकारी पनि दिनुभयो।



