बिर्तामोड, २१ असार । उहिले–पहिलेजस्तो किताबी ज्ञानले मात्र मानिसले आफ्नो भविष्य बनाउन सक्दैन । त्यसकारण अहिले प्राविधिक र गरिखान सक्ने जनशक्ति उत्पादन गर्ने शिक्षाप्रति आकर्षण छ । गरिखाने जनशक्ति उत्पादनका लागि अहिले धेरै शिक्षण संस्थाहरु पनि खुलेका छन् । त्यसमा पनि कतिपय नामका छन् भने कतिपय कामका । यसै सेरोफेरोमा विद्यार्थीको सुन्दर भविष्य निर्माण गर्ने शिक्षण थलोको रुपमा आदर्श स्कुल अफ म्यानेजमेन्टले स्थापित भइरहेको छ । आफ्नो गरिमालाई अझ ओझिलो बनाइरहेको छ ।
बिर्तामोडमा विसं. २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब होटल म्यानेजमेन्टको ब्लक सुरु गर्यो, त्यतिबेला विद्यार्थीको संख्या चानचुन ८० थियो । तर आज आदर्श स्कुल अफ म्यानेजमेन्टको नाममा पहिचान बनाएको यही शिक्षण संस्थामा ४०० भन्दाबढी विद्यार्थी आफ्नो सुन्दर भविष्य निर्माण गरिरहेका छन् । विद्यार्थी र अभिभावकको रोजाइको केन्द्रसमेत बनेको छ ।



विद्यार्थी र अभिभावकको रोजाइमा आदर्श स्कुल पर्नुको कारण प्रयोगात्मक र गुणस्तरीय शिक्षा हो । आदर्शले पाठ्यक्रम मात्र पढाउँदैन, विद्यार्थीलाई सीपयुक्त र गरेर खान सक्ने बनाउँदछ । यहाँ कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीले किताबी ज्ञानलाई वास्तविक जीवनमा उतार्ने अनगिन्ती अवसर पाउँछन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड आँखा अस्पतालबाट तीन सय मिटर दक्षिणमा शान्त वातावरणमा रहेको यो कलेजले झापाका विभिन्न स्थानबाट आउने विद्यार्थीका लागि यातायात सुविधा पनि दिइरहेको छ ।

आदर्श स्कुलप्रतिको आकर्षण बढ्नुको कारण के हो ? भन्ने विज्ञासामा प्रबन्ध निर्देशक सञ्जोग खरेल यसो भन्नुहुन्छ– ‘हाम्रो सफलताको आधार तीनवटा ‘खुसी’ मा टिकेको छ । पहिलो, गुणस्तरीय शिक्षाले ढुक्क भएका खुसी अभिभावक । दोस्रो, आफ्नो सपना साकार पार्न पाएका खुसी विद्यार्थी । र तेस्रो, लगनशील र सम्मानित महसुस गर्ने खुसी शिक्षक । यो त्रिपक्षीय सम्बन्ध नै हाम्रो शक्तिको स्रोत हो ।’
आदर्शको औसत नतिजा ९० प्रतिशतभन्दा माथि छ भने हिसानले आयोजना गरेको परीक्षामा छात्रा सन्ध्या गुरुङ झापा टपर बनेकी थिइन्, जसले आदर्शका विद्यार्थीको प्रतिस्पर्धी क्षमतालाई स्पष्ट पारेको छ ।
विद्यालयले अभिभावकलाई साझेदारको दर्जा दिएको छ । उनीहरूका लागि नियमित रूपमा ‘हेल्थ जागरण’, ‘कुकिङ तालिम’ र विभिन्न सांस्कृतिक अवसरमा प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिन्छ । यसले अभिभावकलाई विद्यालयको गतिविधिमा जोड्ने मात्र होइन, आफ्ना छोराछोरीको सिकाई प्रक्रियालाई नजिकबाट बुझ्न र प्रेरित गर्न मद्दत पुर्याएको छ ।
‘गरेर सिक्ने’ अवधारणालाई आत्मसात गरेको आदर्शले प्लस टु तहमा नेपालकै सबैभन्दा ठूलो र सुविधायुक्त ल्याब सञ्चालन गरेको छ । यहाँ विद्यार्थीले ‘फुड प्रोडक्सन’ देखि ‘फ्रन्ट अफिस म्यानेजमेन्ट’ सम्मका हरेक पक्षलाई व्यावहारिक रूपमा सिक्छन् । उनीहरू होमस्टेदेखि पाँचतारे होटलसम्म पुगेर त्यहाँको सत्कार शैली, व्यवस्थापन र खानपानको प्रत्यक्ष अनुभव लिन्छन् ।
यहाँ विद्यार्थीले होटल म्यानेजमेन्टका मुख्य चार आधारस्तम्भहरू– फुड प्रोडक्सन (पाक कला), फुड एन्ड बेभरेज सर्भिस, फ्रन्ट अफिस म्यानेजमेन्ट र हाउस किपिङको गहिरो व्यावहारिक ज्ञान हासिल गर्छन् । उनीहरूले आकर्षक ककटेल–मकटेल बनाउने ‘मिक्सोलोजी’ देखि कफी बनाउने ‘बारिस्ता’ कला, बेकरी र पेस्ट्रीका सीपहरू कक्षा कोठाभित्रै सिक्छन् ।
यति मात्र होइन, विद्यार्थीको उद्यमशीलता विकास गर्न कलेज परिसरमै ‘एम्बेसडर क्याफे’ सञ्चालनमा छ । विद्यार्थीहरूले आलोपालो प्रणालीमा आफ्नै परिकार बनाएर बेच्छन्, जसले उनीहरूलाई भोलि आफैँ उद्यमी बन्न मार्गनिर्देश गर्छ ।
विद्यार्थीमा सृजनशीलता र नेतृत्व क्षमता विकास गर्न ‘आदर्श एम्बेसडर क्लब’ एक सशक्त मञ्च बनेको छ । यो क्लबले पर्यटन दिवस जस्ता अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने, सामाजिक उत्तरदायित्वका अभियानमा नेतृत्व लिने र सचेतना फैलाउने काम गर्छ ।
आदर्श शिक्षामा मात्र सीमित छैन । यहाँका विद्यार्थी खेलकुदमा पनि अब्बल छन् । हिसानले आयोजना गरेको फुटबलमा प्रदेश च्याम्पियन बन्नु र भलिबलमा कोशी प्रदेशमा दोस्रो हुनुले यसलाई पुष्टि गर्छ । विद्यालयले व्यावसायिक प्रशिक्षक राखेरै खेलकुदमा विद्यार्थीको रुचि जगाइरहेको छ ।
स्थानीय संस्कृति र रैथाने परिकारको प्रवर्द्धनमा पनि विद्यार्थीलाई सक्रिय गराइन्छ । राजवंशी समुदायको ‘राष्ट्रिय भाक्का दिवस’ जस्ता ठूला कार्यक्रममा सर्भिस र व्यवस्थापनको जिम्मा यहाँका विद्यार्थीले कुशलतापूर्वक सम्हाल्छन् ।

‘जब हाम्रा विद्यार्थी आफैँले जातीय परम्परा र संस्कृति प्रवर्द्धन गर्न भ्लग बनाउँछन् वा स्थानीय कार्यक्रममा सक्रिय हुन्छन्, हामीलाई गर्व महसुस हुन्छ । उनीहरू क्षमतावान, अब्बल र प्रतिस्पर्धी छन् भन्नेमा हामी ढुक्क छौँ’, आदर्श स्कुल अफ म्यानेजमेन्टका जनसम्पर्क अधिकारी दीपक दास भन्नुहुन्छ ।
सामाजिक उत्तरदायित्वलाई आफ्नो अभिन्न अंग मान्ने आदर्शले सीमान्तकृत सन्थाल र राजवंशी समुदायका विद्यार्थीलाई शतप्रतिशतसम्म छात्रवृत्ति प्रदान गरेको छ । निःशुल्क बारिस्ता तालिमदेखि वृद्धाश्रममा सेवा गर्नेसम्मका काममा विद्यार्थीको सक्रियताले उनीहरूमा मानवीय मूल्य र सेवाभाव जगाएको छ ।
आदर्शमा पढेका विद्यार्थीले आधारभूत रोजगारीको ग्यारेन्टीसहितको सीप पाउँछन् । बिहान साढे ६ बजेदेखि १० बजेसम्म चल्ने कक्षाका बाहेक दैनिक करिब दुई घण्टा अतिरिक्त प्रयोगात्मक कक्षा र निःशुल्क कोचिङले उनीहरूको दक्षतालाई तिखार्छ । यही कारण आज यहाँका उत्पादनहरू देश–विदेशका चार–पाँचतारे होटल र प्रतिष्ठित रेस्टुरेन्टमा सफलतापूर्वक काम गरिरहेका छन् ।
झापा, मोरङ, सुनसरीदेखि इलाम, पाँचथर र ताप्लेजुङसम्मका विद्यार्थीको आकर्षणको केन्द्र बनेको आदर्श स्कुल अफ म्यानेजमेन्ट, यज्ञराज कडरिया र प्रवेश खनाल जस्ता युवाहरूको सशक्त व्यवस्थापनमा, दक्ष जनशक्ति उत्पादन गर्ने राष्ट्रिय अभियानमा एक बलियो खम्बा बनेर उभिएको छ ।


