
राबाश
भद्रपुर, २९ असार । २१२ औं भानु जयन्ती उत्साहप्रद रूपमा यहाँ भव्य सहभागिताका साथ आज सम्पन्न भएको छ ।
भद्रपुर कला, साहित्य तथा संगीत प्रतिष्ठानको आयोजना र देवकोटा स्मृति भवनको सहकार्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल प्रमुख अतिथि र उपप्रमुख राधा कार्की विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रमको शुरुवात आदिकवि भानुभक्त आचार्यको स्थानीय भानु चोकस्थित शालिकमा माल्यार्पण गरेर गरिएको थियो । त्यसपछि भद्रपुर नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको साहित्यिक कार्यक्रमको शुरुवात बटुकहरूद्वारा रामायण पाठ गरेर गरिएको थियो ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष फणिन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न भएको सो साहित्यिक सभामा प्रा.डा. गंगाप्रसाद अधिकारी तथा साहित्यकारहरू होम सुवेदी, चूडामणि वशिष्ठ र तारा विविधले आदिकवि भानुभक्त आचार्यको भाषिक एवम् साहित्यिक योगदान बारे प्रकाश पार्नुभएको थियो ।
त्यसपछि बृहत् कवि गोष्ठीमा साहित्य–सर्जकहरू क्रमशः विरही अधिकारी, उषा गुरुङ, खगेश्वर कोइराला, निर्मला बास्तोला दंगाल, शालिग्राम भट्टराई ‘अन्तरे’, लेखनाथ दिङ्लाली, हरिप्रसाद न्यौपाने, सुशीला गौतम, तुलसी काफ्ले र जयन्ती मानीले आ–आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।
प्रतिष्ठानका सचिव डिल्लीरमण नेपाल र कोषाध्यक्ष लता खरेलले पालैपालो कार्यक्रमको सञ्चालन गरेका थिए ।
बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्त आचार्यले भाषा, साहित्य र लोकसंस्कृति मार्फत एकीकरण गरेको मानिन्छ । आदिकविको जन्म १८७१ सालको असार २९ गते तनहुँ जिल्लाको चुँदीरम्घा गाउँमा भएको थियो ।
भाषिक एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन आदिकवि भानुभक्तको ऐतिहासिक योगदान छ । आदिकविको निधन १९२५ साल असोजमा भएको थियो ।
नेपालका आदिकवि एवम् नेपाली भाषिक एकताका सूत्रधार भानुभक्त आचार्यको जन्मजयन्ती छिमेकको दार्जीलिङ, सिक्किम, भुटान, बर्मा लगायत नेपाली भाषा–भाषी बसोबास गरिरहेका देशहरूमा पनि बडो श्रद्धापूर्वक मनाउने गरिन्छ ।


