
झापा, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र विचार नमिल्ने नेताहरुलाई स्पष्ट सन्देश दिएका छन्—“अनुशासन र विधिमा नबस्नेले बाटो तताउँदा हुन्छ।” शनिबार धुलाबारीस्थित पासाङल्यामु स्मृति प्रतिष्ठानमा आयोजित राप्रपा मेचीनगरको पाँचौँ नगर अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्द्द।
अध्यक्ष लिङ्देनले वर्तमान व्यवस्था परिवर्तनका लागि आन्दोलन नै एक मात्र विकल्प भएको दोहोर्याउँदै कार्यकर्ता र नेताहरुलाई संगठन सुदृढ गर्न निर्देशन दिए। भ्रष्टाचारविरुद्ध राप्रपा मात्र सक्रिय रहेको दाबी गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको जानकारी पनि दिए ।
कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य खुश्बु ओलीले २०४६ सालपछिका नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरिन्। उनले राप्रपा बाहेकका सबै पार्टीहरू भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै, “सही नेतृत्व भए १० वर्षमै देश बन्न सक्छ” भन्ने धारणा राखिन्।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र परित्याग गरी राप्रपामा प्रवेश गरेका नवप्रवेशीहरुलाई खादा, अविर र टीका लगाएर स्वागत गरियो। साथै, पार्टीलाई योगदान दिने व्यक्तिहरुलाई सम्मानित पनि गरियो।
अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि चन्द्र निरौलाको अध्यक्षतामा २१ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको छ। निरौला यसअघि दुई पटक नगर सचिव भइसकेका युवा नेता हुन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



