
झापा, ५ भदौ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको फरक मतका बीच विधेयक पारित भएको हो ।
विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकृत र संशोधन गर्न बनेको सो विधेयक लामो समयदेखि उपसमिति र समितिमा छलफलमा रहेको थियो। आजको बैठकले विधेयक पारित गरेसँगै अब संसद्को पूर्ण बैठकमा पेस गरिनेछ ।

माओवादी केन्द्रले विधेयकप्रति असहमति जनाउँदै पाँच बुँदे फरक मत समितिमा दर्ता गराएको छ । पार्टीका सांसद देवेन्द्र पौडेल, महिन्द्रराय यादव, रेखा शर्मा र ज्ञानु बस्नेत सुवेदीले विद्यालय शिक्षा सुधारका लागि उठाइएका विषय विधेयकमा समावेश नभएको भन्दै फरक मत राखेका हुन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी विना जयसवालले पनि विधेयकप्रति असहमति जनाएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

