
काठमाडौं, ४ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रदेश र स्थानीय सरकार पनि खारेज गरी ुभ्रष्टु प्रशासनमाथि कडा कदम चाल्नुपर्ने आवाज उठाएका छन्।
शनिबार काठमाडौंमा सुरु भएको आजपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै साहले हालको प्रणाली भ्रष्ट र असफल भएको बताउँदै त्यसलाई नबदली मुलुक नबन्ने बताए। सरकारमात्रै भ्रष्ट भएकाले त्यस्ता सरकारलाई खारेज गरेर संघीयता भने अझै बलियो बनाइनुपर्ने उनको भनाइ थियो । यस्तै उनले बिग्रिएको व्यवस्था भत्काउँदै भ्रष्ट नेतालाई नहटाएसम्म मुलुक नबन्ने समेत तर्क गरे ।
साहले देशमा मौलाएको भ्रष्टाचार, कुशासन, अनियमितता र लुटपाट रोक्न आवश्यक रहेको बताउँदै उनले दुई वर्षअघि आजपाले तेस्रो जनआन्दोलनको घोषणा गरेको स्मरण गरे । उनले अहिले जेन–जी पुस्ताले जनविद्रोह गर्नु सकारात्मक भएको बताए ।
ुमुलुकमा भ्रष्टाचार, कुशासन र दलहरुको लुटकारी प्रवृत्तिका कारण राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र धरासायी भइरहेका छन्,ु साहले भने, ुत्यसैले संविधान र व्यवस्था गलत भएकाले जनताको अवस्था खराब भएको स्वीकार गर्नुपर्दछ र आवश्यक परे संविधान खारेज गरेर समेत जेनजीको माग सम्बोधन गर्नुपर्छ।ु
साहले संसद, सर्वोच्च अदालत र सिंहदरबारजस्ता संस्थाहरूमा षड्यन्त्रपूर्ण आक्रमण भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिनको माग गरे। उनले जेनजी आन्दोलनलाई अपहरण गरिएको र युवाहरुको भावनालाई धोका दिने प्रयास भइरहेको समेत बताए।
त्यसैगरी साहले परराष्ट्र र रक्षा मन्त्रालयको नेतृत्वविहीनतालाई पनि प्रश्न उठाउँदै सुरक्षा निकाय र तिनका नेतृत्वहरूको भूमिकाको समिक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।



