
झापा, १५ असोज । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। नवरात्रको नवौँ दिन आज नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिँदैछ।
महानवमीका दिन घटस्थापनाका बेला राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाइन्छ। दसैँघर, कोत, देवी मन्दिर तथा शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको पूजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ पनि गरिन्छ।
शाकाहारी भक्तहरूले कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल बलि दिई पायस चढाउने परम्परा निर्वाह गर्छन्। कतिपय स्थानमा महाष्टमीमा बलि दिइए पनि महानवमीमा मार हान्ने चलन छ।
मार्कण्डेय पुराण अनुसार यही दिन चामुण्डा देवीले रक्तवीज राक्षसको वध गरेकी थिइन्, जसले महानवमीलाई विशेष धार्मिक महत्त्व प्रदान गरेको छ। कतिपय शक्तिपीठहरूमा आज पञ्चबलि पनि दिने गरिन्छ।
नवरात्रको अन्तिम दिन आज नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा गरिन्छ। कन्या पूजा, महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना पनि गरिन्छ।
महानवमीको अवसरमा कोतहरूमा कोतपूजा र निसानापूजा गरिन्छ। नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित जङ्गी निसाना पूजा गरिन्छ।
यसैबीच, वर्षमा एकपटक मात्र खुल्ने तलेजु मन्दिर आज भक्तजनका लागि खुला गरिएको छ। हनुमानढोका दरबारस्थित तलेजु भवानीको मन्दिरमा आज लाखौँ भक्तजन दर्शनका लागि पुग्ने गर्छन्। तलेजु भवानीलाई फूलपातीकै दिन मूलचोकमा ल्याइएको थियो र विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ।

