झापा, ३० असोज । स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउने उद्देश्यसहित आज ४५औँ विश्व खाद्य दिवस नेपालमा विविध कार्यक्रमसहित मनाइँदैछ। कृषि विभागको आयोजनामा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन ९एफएओ० तथा अन्य संस्थाहरूको समन्वयमा दिवस मनाइँदैछ।
यस वर्षको नारालाई ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने तय गरिएको छ। समारोह व्यवस्थापनका लागि कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।
महानिर्देशक सञ्जेलका अनुसार खाद्य वस्तुको प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर तथा सन्देश प्रकाशन र प्रसारणमार्फत दिवस मनाउने तयारी गरिएको छ। भोकमरीपीडित वर्गको उत्थानका लागि गरिने प्रयासमा दिवसले सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
दिवसको अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूको समन्वयमा प्रचारप्रसार, अन्तरक्रिया, लेख–रचना प्रकाशन लगायत विविध कार्यक्रमहरू सञ्चालन गरिनेछ।
विश्व खाद्य दिवस हरेक वर्ष अक्टोबर १६ मा मनाइन्छ। सन् १९७९ मा संयुक्त राष्ट्र सङ्घको २०औँ साधारणसभाले एफएओको स्थापना दिवसलाई खाद्य दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ देखि यो दिवस मनाउन थालिएको हो।


