झापा, ३१ असोज । संयुक्त अरब इमिरेट्स (यूएई)ले सन् २०२६ को पुरुष टी–२० विश्वकपमा स्थान बनाएसँगै प्रतियोगितामा सहभागी हुने सबै २० टोलीको टुंगो लागेको छ। आगामी वर्ष भारत र श्रीलंकाको संयुक्त आयोजनामा विश्वकप सम्पन्न हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जनाएको छ।
बिहीबार ओमानको अल अमरातमा सम्पन्न एसिया–पूर्वी एसिया प्रशान्त (ईएपी) क्वालिफायर प्रतियोगितामा यूएईले जापानलाई ८ विकेटले पराजित गर्दै अन्तिम टोलीको रूपमा विश्वकपमा स्थान सुरक्षित गरेको हो। यसअघि नेपाल र ओमानले पनि यही प्रतियोगिताबाट छनोट भएका थिए।

स्वतः योग्य र वरीयता प्राप्त टोलीहरू
आयोजक भारत र श्रीलंकासहित सन् २०२४ को टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका सात टोली — अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिज — स्वतः योग्य प्रणालीअनुसार छनोट भइसकेका थिए।
टी–२० वरीयताको आधारमा न्युजिल्यान्ड, पाकिस्तान र आयरल्यान्डले पनि विश्वकपमा स्थान बनाएका छन्।
क्षेत्रीय छनोटबाट योग्य हुने टोलीहरू
अमेरिका क्वालिफायर: क्यानडा
युरोप छनोट: इटली, नेदरल्यान्ड्स
अफ्रिका छनोट: नामिबिया, जिम्बाब्वे
एसिया–ईएपी छनोट: नेपाल, ओमान, यूएई
आईसीसीका अनुसार सन् २०२६ को विश्वकप यसअघिकै फर्म्याटमा हुनेछ। प्रतियोगितामा २० टोलीलाई चार टोलीको पाँच समूहमा विभाजन गरिनेछ। समूह चरणमा राउन्ड–रोबिन शैलीमा खेल हुनेछ।
प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर ८ चरणमा प्रवेश गर्नेछन्। सुपर ८ मा चार टोलीको दुई समूह बनाइनेछ। ती समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलका विजेताहरूले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

