झापा, ३१ असोज । थाइल्याण्डसँगको फराकिलो हारसँगै नेपाल एएफसी महिला यु–१७ एसियन कप २०२४ को छनोट चरणबाट बाहिरिएको छ।
थाइल्याण्डको चोनबुरी रंगशालामा शुक्रबार सम्पन्न समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली थाइल्याण्डले नेपाललाई १२–० गोलअन्तरले पराजित गरेको हो। यस जितसँगै थाइल्याण्डले दुई खेलमा पूर्ण ६ अंक जोड्दै समूह विजेता बन्दै आगामी वर्ष चीनमा आयोजना हुने एसियन कपमा स्थान सुरक्षित गरेको छ।

थाइल्याण्डले खेलको पहिलो हाफमै ८ गोल गर्दै नेपालमाथि दबाब बनाएको थियो भने दोस्रो हाफमा थप ४ गोल गर्दै फराकिलो जित दर्ता गर्यो।
यसअघि थाइल्याण्डले समूहको पहिलो खेलमा तुर्कमेनिस्तानलाई १७–० ले पराजित गरेको थियो। नेपालले भने तुर्कमेनिस्तानसँगको पहिलो खेल गोलरहित बराबरी खेलेको थियो।
नेपालको लागि यो हार निराशाजनक भए पनि टोलीले अन्तर्राष्ट्रिय अनुभव बटुल्न सफल भएको छ।

