झापा, २ कात्तिक । झापाको बुद्धशान्ती गाउँपालिका–७ सुनमाईस्थित एक घरको वरन्डामा नवजात शिशु फेला परेको छ । कात्तिक १ गते राति करिब ९ बजे सीमा आचार्यको घरको अगाडि रहेको वरन्डामा करिब ४–५ दिनको जस्तो देखिने एक नवजात छोरी शिशु फेला परेको हो ।
शिशुलाई सोही घरमा भाडामा बस्दै आएका ताप्लेजुङ जिल्ला श्रीजगा गाउँपालिका–७ निवासी ओम प्रकाश तुमीहाङ लिम्बुले देखेका थिए । उनले राति ९ः१५ बजे इलाका प्रहरी कार्यालय बुधबारेमा खबर गरेपछि प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।
प्रहरी टोलीले स्थानीय बासिन्दा, भद्भलादमी तथा जनप्रतिनिधिको समन्वयमा शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । अस्पताल स्रोतका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ। शिशुलाई कसले र किन त्यहाँ राखेको भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।


