झापा, १ कात्तिक । झापाको काँकडभिट्टादेखि केरखासम्म निर्माणाधीन एसियन हाइवेको पूर्वी खण्डमा कालोपत्रे कार्य सुरु भएको छ। काँकडभिट्टा–लौकही सडक आयोजना कार्यालय (पूर्वी खण्ड) का अनुसार ४५ किलोमिटर लम्बाइको सडकखण्डमध्ये हाल दुई दशमलव पाँच किलोमिटर क्षेत्रमा कालोपत्रे सुरु गरिएको हो।
बिर्तामोड, मेचीनगर, शिवसताक्षी र कमलका केही स्थानमा तीव्र गतिमा काम भइरहेको छ। आयोजनाका प्रमुख इन्जिनियर सुनिलबाबु पन्तका अनुसार सडकको एक लेनमा पहिलो सतहको कालोपत्रे सम्पन्न भइसकेको छ। “काम तीव्र गतिमा भइरहेको छ,” उनले भने, “वर्षा सकिएको र चाडपर्व पनि सकिएकोले अब कामको गति अझै बढ्नेछ।” उनका अनुसार पहिलो सतहपछि थप पाँच सेन्टिमिटरको माथिल्लो सतह कालोपत्रे गरिनेछ।
एसियाली विकास बैंकको सहयोगमा करिब १० अर्ब रुपैयाँको लगानीमा काँकडभिट्टादेखि केरखाको सीतापुरीसम्मको सडक स्तरोन्नति कार्य भइरहेको छ। निर्माणको जिम्मा लिएको एभ्रास्कन कालिका जेभीले १५२ मध्ये ९२ वटा कल्भर्ट निर्माण सम्पन्न गरिसकेको जनाएको छ।
यातायातको चाप बढी हुने सहरी क्षेत्रमा ओभरपास निर्माण पनि तीव्र गतिमा भइरहेको छ। मेचीनगरको चारआली चोकमा पूर्वतर्फ २५१ मिटर र पश्चिमतर्फ २२६ मिटर तथा बिर्तामोडको चारपाने चोकमा पूर्वतर्फ २०७ मिटर र पश्चिमतर्फ ३०८ मिटर ओभरपास निर्माण भइरहेको छ। यी ओभरपासहरूमा पैदलयात्री र सवारीसाधनका लागि छुट्टाछुट्टै लेन बनाइँदैछ।
जङ्गली जनावरको सुरक्षालाई ध्यानमा राख्दै मेचीनगरको चारआलीअन्तर्गतको जङ्गल क्षेत्रमा ‘एनिमल अन्डरपास’ पुल निर्माण पनि भइरहेको छ। पूर्वी खण्डमा पर्ने १८ वटा पुलमध्ये अधिकांशको निर्माण कार्य जारी रहेको पन्तले जानकारी दिए।


