झापा, १५ कात्तिक । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईस्थित आइसिसी एकेडेमीमा आज सम्पन्न खेलमा नेपाल अमेरिका विरुद्ध चार विकेटले पराजित भएको छ। यो नेपालका लागि प्रतियोगिताको लगातार तेस्रो हार हो।
पहिला ब्याटिङ गर्दै नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनायो। दीपेन्द्रसिंह ऐरीले ७५ रन, करण केसीले ४९ रन, कुशल भुर्तेलले ४७ रन, भीम सार्कीले ४३ रन र कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए।

जवाफमा अमेरिका ४९ ओभरमै लक्ष्य पूरा गर्दै २७२ रन बनायो। साइत्यजा मुकामल्लाले ७५ रन, मिलिन्द कुमारले ७० रन बनाए। साइन जाहाङिरले ३६, मोनाङ पटेलले २१, सुभम रन्जनले १९ र स्मित पटेलले १६ रन बनाए।
नेपालका सन्दिप लामिछानेले तीन विकेट लिए भने गुल्सन झा, करण केसी र नन्दन यादवले समान एकरएक विकेट लिए। अमेरिकाका हर्मित सिंहले तीन विकेट लिए भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले दुईरदुई विकेट लिए।
अमेरिकाले जारी शृङ्खलामा लगातार तेस्रो जित निकाल्दै लिग–२ तालिकाको शीर्ष स्थानमा पुगेको छ। उसले २३ खेलमा ३४ अंक जोडेको छ। नेपाल भने १९ खेलमा १२ अंकसहित सातौँ स्थानमा छ।

