झापा, १७ कात्तिक । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आजदेखि ‘एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’को हुँदैछ ।
हिजै बेलुका आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको थियो । प्रतियोगिताको प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा (रोशन)ले उद्घाटन गर्नुहुने आयोजक समितिले जनाएको छ ।

आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले प्रतियोगितामा फरक क्षमता भएका व्यक्ति र १० वर्षभन्दा मुनिका बालबालिकाका लागि प्रवेश निःशुल्क गरिएको बताउनुभयो । प्रतियोगिता निर्धारित समयमै शुरु हुने भएकाले समयमै खेलको मजा लिन आउन उहाँले सम्पूर्ण फुटबल प्रेमीहरुलाई आग्रहसमेत गर्नुभयो । प्रतियोगितालाई महिला खेलाडीमा प्रेरणा जगाउने र ग्रासरुट स्तरमै महिला फुटबललाई सुदृढ बनाउने अभियानका रूपमा लिइएको उहाँले बताउनुभयो ।
“टिकट किनेर खेल हेर्ने दर्शक महानुभावले खेलको मजासँगै विशेष उपहार समेत पाउने छन्”, उहाँले भन्नुभयो, “प्रत्येक खेलको दिन लक्की ड्र गरेर एक जनालाई मोबाइल फोनको व्यवस्था गरिएको छ, अन्य आकर्षक पुरस्कारको पनि व्यवस्था गरिएको छ ।”
कात्तिक २४ गतेसम्म हुने प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडान गर्नुका साथै १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ ।
आजको उद्घाटन खेल नेपाल पुलिस क्लबको महिला टिम र चर्च ब्वाइज युनाइटेडको महिला टिमबीच हुनेछ । दोस्रो खेल कात्तिक १८ गते नेपाल एपिएफ फुटबल क्लबविरुद्ध भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले खेल्नेछ ।
झापा महिला गोल्डकपको तेस्रो खेल कात्तिक १९ गते संकटा फुटबल क्लबसँग झापा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ । चौथो खेल कात्तिक २० गते त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
आठ वटा टिमको सहभागिता रहने प्रतियोगिता अन्तरगत कात्तिक २४ गते हुने फाइनल खेलको विजेता टिमले नगद रू १० लाख १० हजार र उपविजेताले नगद रू पाँच लाख पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद रू एक लाख ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद रू २५ हजार पुरस्कार पाउनेछन् भने प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद रू १५ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका लागि रू एक सय र रू दुई सय टिकट दर राखिएको छ ।

