
झापा, २३ कात्तिक । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपको उपाधिका लागि कात्तिक २४ गते एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच भिडन्त हुने भएको छ ।
सेमिफाइनलमा त्रिभूवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै एपिएफले फाइनलमा र काठमाडौँको संकटा फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै पुलिसले फाइनलमा पुगेको हो । हालसम्मको प्रदर्शन हेर्दा उपाधिका लागि दुवै टीम बीच अब्बल प्रतिस्पर्धा हुने देखिन्छ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

