
सागर गौतम
खुुदुनावारी, १ मंसीर । अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनावारी साना किसान कृषि सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई मकै रोप्ने मेशिन वितरण गरेको छ ।
संस्थाका अध्यक्ष कृष्ण प्रसाद दंगालको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका प्रमुख बलदेव सिंह गोम्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा किसानलाई मकै रोप्ने मेसिन वितरण गरिएको हो । संस्थाको पाङ्गणमा सोमबार आयोजित कार्यक्रममा प्रमुख अतिथी गोम्देनले संस्थाका जेष्ठ सदस्य गोपीकृष्ण पराजुली र अन्तर समूह–३ ९ घ ० की अध्यक्ष उर्मिला खतिवडालाई वितरण गर्नुभएको थियो ।
संस्थाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत एक समूह एक मकै रोप्ने मेसिन वितरण गरिएको संस्थाका अध्यक्ष कृष्ण प्रसाद दंगालले बताउनुभयो ।
उहाँका अनुसार संस्थामा २३ सय ४७ सेयर सदस्यलाई ४ सय ४४ थान मकै रोप्ने मेसिन र अन्तर समूह–४ भाङ्गबारीलाई ४२ थान हलो समेत वितरण गरिनेछ। यस्ता उपकरणले कृषकलाई आधुनिक कृषि प्रणाली अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । संस्था र सेयर सदस्यको ५०–५० साझेदारीमा उक्त सामाग्री वितरण गरिएको हो ।
अध्यक्ष दंगालले भन्नुभयो, “सेयर सदस्यहरुले अथक परिश्रम गरिरहेका छन् तर भरपर्दो उपकरण अभावले अपेक्षित लाभ लिन सकेका छैनन्, संस्थाले वितरण गरेको यी उपकरणले श्रम गर्न सजिलो बनाउनुका साथै उत्पादन वृद्धि हुने विश्वास लिएका छौँ ।”
किसानहरूलाई कृषि सामाग्री वितरण गर्दै प्रमुख अतिथि गोम्देनले कृषकलाई आवश्यकता अनुसार मकै रोप्ने मेशिन संस्थाले वितरण गरेकोमा खुसी व्यक्त गर्दै किसान मैत्री कार्यक्रम नगरले राख्ने र त्यसका लागि खुदुनावारी साना किसान कृषि सहकारी संस्था लि सँग साझेदारीमा कार्यक्रम गर्न तत्परका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमका विशेष अतिथी अर्जुनधारा वडा–३ का अध्यक्ष सिताराम भट्टराईले उपलब्ध सामाग्रीको सही सदुपयोग गर्न आह्वान गर्नुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


