
बिर्तामोड, २१ मंसीर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाईले पार्टीको आन्तरिक चुनावलाई सौहार्दपूर्ण र मेलमिलापका साथ सम्पन्न गरी आगामी फागुन २१ गते हुने आम निर्वाचनमा उम्मेदवारलाई विजयी गराउन सबै नेता–कार्यकर्ताले योगदान दिनुपर्नेमा जोड दिनुभएको छ।
झापामा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रसाईले कांग्रेसभित्र पुरानो पुस्ता, पञ्चायतकालमा संघर्ष गरेको पुस्ता, २०६२र०६३ को आन्दोलनबाट उदाएको पुस्ता तथा नयाँ पुस्ता गरी चार पुस्ता सक्रिय रहेको उल्लेख गर्दै सबैलाई समावेश गरेर मात्र पार्टी बलियो हुने धारणा राख्नुभयो। उहाँले निर्वाचित सभापतिमाथि आक्रमण हुनु, वीपी कोइराला र गणेशमान सिंहको निवास, किसुनजीको आश्रम तथा पार्टी कार्यालयमाथि भएको तोडफोडलाई सिंगो कांग्रेसमाथिको आक्रमण ठहर गर्दै आफ्नै नेतृत्वको बद्नामी गरेर पार्टी बलियो नहुने बताउनुभयो।
कोशी प्रदेश सभापति उद्वव थापाले पार्टीभित्र विशेष महाधिवेशन माग गर्ने, चुनावअघि नियमित महाधिवेशन हुनुपर्ने वा आम निर्वाचनपछि मात्र १५औं महाधिवेशन गर्नुपर्ने भन्ने विभिन्न धारणा केन्द्रीय समितिमा प्रस्तुत भए पनि ती बहस लोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्नुभयो। सर्वसम्मतिले महाधिवेशनको मिति घोषणा भइसकेकाले अब सबै नेता–कार्यकर्ता मिलेर आम निर्वाचनमा पार्टी उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।
सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकले १५औं महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिले तय गरेको कार्यतालिका अनुसार क्रियाशील सदस्य नवीकरण तथा नयाँ वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेको छ। कुनै वडाबाट नवीकरण छुट भए आगामी मंसीर २५ गतेभित्र जिल्ला कार्यसमितिमा बुझाउन निर्देशन दिइएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



