
राजेश ढुङ्गाना
अध्यक्ष खड्गप्रसाद ओलीको उट्पट्याङ र बेढंगे कुराले थिल्थिलो भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) आफ्नै महाधिवेशनको संघारमा आइपुग्दा अझ र थप थिल्थिलो भएर गइरहेको छ — त्यो पनि ओली र ओली समूहकै कर्मले ।
युवा सङ्घकै कामको औचित्य पुष्टि नभइरहेका सन्दर्भमा फेरि अर्को लडाकु फोर्स गठन गरेर एमालेले देखिनेगरी नै मुलुकमा भीडन्तको तयारी गरेको छ । किन यसरी एमाले मुलुकमा द्वन्द्व, भीडन्त र मूठभेड तर्फ जाँदैछ ? आफ्नै लागि हो कि उसको यो काम कतैबाट निर्देशित छ ? आफ्नै लागि हो भने पनि अरूद्वारा अरू शक्तिका लागि नै यो कर्म किन नगरिएको होस् – त्यो मुलुकका लागि अत्यन्त घातक हुने छ ।
एकातिर अर्कै लडाकु फोर्स गठन गर्नु र महेश बस्नेतले जे जस्ता क्रियाकलाप गर्दैछन् – महेश, केवल केपी.को निर्देशन मात्र पालना गर्दैछन् कि अन्य बाह्य शक्तिको बफादारी गर्दैछन् ?–गम्भीर प्रश्न खडा भएको छ ।
यसरी एकपछि अर्को गरी ओली र एमालेले मुलुकलाई द्वन्द्वमा लग्न चाहेको गुह्य रहस्यको अब चिरफार र पर्दाफास गर्ने समय आइसकेको छ । यदि यसो नगरिएमा मुलुकका लागि गम्भीर धोका हुने छ । मुलुकमा सिर्जना हुन लागेको यो सम्भावित दुर्घटनाप्रति सचेत नहुनु र नगराउनु पनि मिल्दैन ।
मुलुकलाई द्वन्द्वमा धकेल्ने एमाले कर्तुतमा महेश बस्नेत कतै कुनै विदेशी शक्तिको बाहक बनी षडयन्त्रमा नायक बनिरहेका होइनन् ? उनको हठ, बोली र व्यवहारले प्रश्न उठाएको हो । तिनलाई ओलीको पूरजोर समर्थन त झन् डरलाग्दो रहस्य भएर आएको छ ।
एमालेले भन्ने गरेको लामो समयदेखिको कथित राष्ट्रवादलाई आफै हावा ख्वाएको यो र यस्ता टड्कारा प्रश्नहरूले उसको ‘राष्ट्रवाद’वाला नक्कली अनुहार पनि प्रष्ट हुन थालेको छ ।
एमाले आफैंले गर्न चाहेको होस् वा उसले कुनै बाह्य शक्तिको खेल र षडयन्त्रमा परेर थालेको भीडन्त र द्वन्द्व होस्; त्यसले मुलुकमा ठूलो जनधनको क्षति गर्ने निश्चित छ । यस क्रममा देश नै विखण्डन हुनेसम्मको दुर्घटना (एमालेका निमित्त घटना मात्र) हुन सक्ने छ ।
आफैंले दुई–दुई पटक संसद् विघटनको सिफारिश गरेका ओलीले अहिले भने संसद् पुनस्र्थापनाको रट लगाउनुले उनको दोग्ला चरित्रको पर्दाफास मात्र भएको छैन; ओली उर्फ एमाले चुनाव चाहँदैन भन्ने पनि पुष्टि भएको छ ।
सांगठनिक र वैचारिक हिसाबले समेत अत्यन्त कमजोर भएको एमाले मुलुकलाई चुनाव तर्फ जान दिनुभन्दा बितण्डा मच्चाएर चुनावलाई टार्नु यतिबेला उसका लागि अनिवार्य जस्तै भएर आएको छ । चुनाव भएर लज्जास्पद परिणाम भोग्नुभन्दा अनेकन् लफडाबाजी गरेर त्यसलाई टार्ने उपक्रम मार्फत एमालेले आफ्नो ‘सुरक्षा’ खोजिरहेको हो त ? यदि हो भने त्यसको परिणाम अन्ततः द्वन्द्व नै हो र त्यही द्वन्द्वको जुवा खेलेर ओली र सिङ्गो एमाले मुलुकलाई भने हराउने खेल खेलिरहेका छन्, केवल आफू जित्ने दाउमा !

