
बिर्तामोड, ८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुुस १२ गते झापाको बिर्तामोडमा जनजागरण सभा गर्ने भएको छ ।
बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी राप्रपाले जनजागरण सभाको तयारी बारेमा जानकारी दिएको हो । राप्रपा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले जेनजी आन्दोलनपछि राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीको धारणा, दृष्टिकोण र मुलुकको पछिल्लो अवस्थाबारे आमनागरिकलाई जानकारी गराउन जनजागरण सभा गर्न लागिएको जानकारी दिनुभयो ।
जनजागरण सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । जनजागरण सभामा झापाका १५ वटा स्थानीय तहका १३१ वटै वडाका सहभागी आउने जनाइएको छ ।
जनजागरण सभामा सभ्य र मर्यादित तवरले सम्पन्न गरिने झापा अध्यक्ष ओझाले बताउनुभयो । जनजागरण सभाका लागि विभिन्न उपसमिति गठन गर्नुका साथै जिल्ला प्रशासनबाट अनुमति समेत लिइएको पार्टीले जनाएको छ ।
जनजागरण सभाका लागि पूर्वबाट पार्टी नेतृ सबिना बजगाईंको नेतृत्वमा, पश्चिमबाट पार्टीका प्रदेश अध्यक्ष राम थापा, उत्तरतर्फको केन्द्रीय प्रवक्ता भक्ति सिटौला र दक्षिणतर्फको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्नेले गर्नुहुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पार्टी प्रवक्तामा खतिवडा
राप्रपा झापाले पार्टीको जिल्ला प्रवक्ता सूर्य खतिवडालाई जिम्मेवारी प्रदान गरेको छ । पार्टीको बैठकले खतिवडालाई प्रवक्ताको जिम्मेवारी दिएको अध्यक्ष ओझाले बाउनुभयो ।
प्रवक्ताको जिम्मेवारी पाउनुभएका खतिवडाले पार्टीका गतिविधिलाई थप सशक्त बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । पत्रकार सम्मेलनमा राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतम, राप्रपा ट्रेड युनियन महासंघ केन्द्रीय सह अध्यक्ष बसन्त रिमाल, विद्यार्थी संगठनका केन्द्रीय सदस्य यमन भुर्तेल लगायतको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



