
झापा, ५ माघ । आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा आउने भएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उनी आज बिहान १०ः२५ को हवाइ जहाजबाट भद्रपुर आउने भएका हुन् ।
यसपटकको निर्वाचनमा झापा–५ राष्ट्रिय राजनीतिमै सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको छ, जहाँ अध्यक्ष ओलीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौँका मेयर बालेन शाहले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।
झापा पुगेलगत्तै अध्यक्ष ओलीले जिल्लाका सबै क्षेत्रको निर्वाचन तयारीबारे जानकारी लिने कार्यक्रम छ । उनले भद्रपुरमै क्षेत्र नम्बर १ र ३ का नेता–कार्यकर्तासँग भेटघाट गरी पछिल्लो अवस्थाबारे बुझ्नेछन् । त्यसपछि बिर्तामोडमा क्षेत्र नम्बर २ र सुरुङ्गामा क्षेत्र नम्बर ४ को तयारीबारे जानकारी लिने तालिका रहेको छ । आफ्नै निर्वाचन क्षेत्र झापा–५ को तयारीबारे भने उनले दमकमा स्थानीय नेताहरूसँग विस्तृत छलफल गर्नेछन् ।
यसपटकको भ्रमणमा ओलीले दमकस्थित आफ्नो निवासमा पनि जाने कार्यक्रम बनाएका छन् । सो निवास जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट प्रभावित भएको थियो । भदौमा भएको सो विद्रोह र सत्ता फेरबदलपछि पहिलो पटक हुन लागेको यो निर्वाचनलाई एमालेले निकै प्रतिष्ठाको विषय बनाएको छ। झापा–५ मा ओली, बालेन शाह र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



