
झापा, ५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट झापा क्षेत्र नं. ३ मा डिल्लीराम घिमिरे (हिक्मत) उम्मेदवार बन्नु भएको छ ।
पार्टीले आज घिमिरेलाई टिकट दिएसँगै उहाँ आगामी निर्वाचनका लागि उम्मेदवार बन्नु भएको हो । जेनजी आन्दोलनको मर्मलाई आत्मसात गर्दै युवा प्रतिनिधिहरुको मागलाई पूरा गर्न आफू उम्मेदवार भएको उहाँको भनाइ छ ।
“युवाहरुको प्रतिनिधित्व गर्दै उनीहरुको माग पूरा गर्न चुनावी मैदानमा उत्रिएको हुँ”, उहाँले भन्नुभयो, “झापा ३ को राजनीतिक विरासतको परम्परालाई तोड्न युवा उम्मेदवारका रुपमा आएको हुँ ।”
आदिवासी–जनजातिको बहुल यस क्षेत्रमा उनीहरुको माग र आवश्यकतालाई आफूले नजिकबाट बुझेकाले उनीहरुको उत्थान गर्न समेत आफू लाग्ने उहाँले बताउनुभयो । “यो भूगोलमा मैले लामो समयदेखि काम गरेको छु, यहाँको मानिसको भावना बुझेको छु”, उहाँले भन्नुभयो, “चुनावले फरक अनुहार आए पनि उही प्रवृत्ति आउने परम्परालाई तोड्न पनि उम्मेदवार बनेको हुँ ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



