
झापा, ६ माघ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।
आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत उम्मेदवारले नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा आ–आफ्नो उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो ।
उहाँका अनुसार यस पटकको निर्वाचनमा एमालेले अगाडि सारेको उम्मेदवारमध्ये ५४ दशमलव ५४ प्रतिशत नयाँ छन् । तीमध्ये मधेस र सुदूरपश्चिम प्रदेशमा ५०–५० प्रतिशत र कोशीमा ५३ दशमलव ५७ प्रतिशत उम्मेदवार नयाँ छन् ।
यस्तै, सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२ दशमलव ३० प्रतिशत रहेका प्रचार विभाग प्रमुख शाहीले बताउनुभयो । यस्तै, बागमती ६० दशमलव ६० र गण्डकीमा ६१ दशमलव ११ प्रतिशत रहेको नयाँ उम्मेदवार रहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



