
सन्तोष शर्मा
झापा, १२ माघ । झापामा पछिल्लो छ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।
चालु आर्थिक वर्ष २०८२/०८३ को पुष मसान्तसम्म एक बालबालिकासहित ५५ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै दमक नगरपालिका र कचनकवल गाउँपालिकामा १२÷१२ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।
त्यस्तै, मेचीनगर नगरपालिकामा तीन जना, बुद्धशान्ति गाउँपालिकामा दुई जना, शिवसताक्षी नगरपालिकामा पाँच जना, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा दुई/दुई जना, बाह्रदशी गाउँपालिका र बिर्तामोड नगरपालिकामा पाँच/पाँच जना र भद्रपुर नगरपालिकामा चार जना नयाँ कुष्टरोगी फेला परेका छन् । चालु आर्थिक वर्षमा ५३ जना कुष्ठरोगीले उपचारसमेत पाएको फोकल पर्सन दासले बताउनुभयो ।
नयाँ रोगीको संख्या बढ्दो
पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा झापा जिल्लामा नयाँ कुष्ठरोगी फेला पर्ने संख्या बढ्दै गएको देखिन्छ ।
जिल्लामा गत आर्थिक वर्ष २०७७/०७८ मा ९५ जना कुष्ठरोगी फेला परेका थिए भने आर्थिक वर्ष २०७८/०७९ मा एक सय २१ जना, आव २०७९/०८० मा एक सय ५७ जना, आव २०८०/०८१ मा एक सय २१ जना र २०८१/०८२ मा एक सय ४७ जना नयाँ कुष्ठरोगी फेला परेको कार्यालयले जनाएको छ ।
तथ्यांकको आधारमा हेर्दा २०७७/७८ मा संक्रमण दर १.०२ प्रतिशतबाट आव २०८१/०८२ मा आइपुग्दा १.४७% पुगेको देखिन्छ ।
विश्वमा बर्सेनि झण्डै दुई लाख नेपालमा बर्सेनि करिब दुई हजार पाँच सय नयाँ कुष्ठरोगी फेला पर्ने गरेको फोकल पर्सन दास बताउनुहुन्छ । चिह्न र लक्षणको आधारमा कुष्ठरोग दुई प्रकारको हुने उहाँले बताउनुभयो ।
“कम सर्ने खालको कुष्ठरोग र सर्ने खालको कुष्ठरोग हुन्छ”, उहाँले भन्नुभयो, “बहु–औषधि उपचार पद्धतिद्वारा छ देखि १२ महिनाको अवधिसम्म तीन प्रकारका औषधिहरूको प्रयोगबाट कुष्ठरोग निको हुन्छ र समयमै कुष्ठरोगको उपचार भएमा अपाङ्गता पनि हुँदैन ।”
सामाजिक अवहेलनाको डरले गाउँघरमा अझै पनि धेरै कुष्ठरोगी लुकेर रहेकाले सुक्ष्म रुपमा खोजपतड्ला गर्नुपर्ने उहाँको भनाइ छ ।

