
सन्तोष शर्मा
झापा, २९ माघ । झापामा पछिल्लो अढाइ वर्षको अवधिमा पाँच हजार भन्दा बढी प्राणघातक रोग क्यान्सरका नयाँ रोगी थपिएका छन् ।
आर्थिक वर्ष २०८०/८१ देखि चालु आर्थिक वर्ष २०८२/८३ को पुष मसान्तसम्म (३० महिना) को अवधिमा १८ भन्दा बढी प्रकारका पाँच हजार दुई सय २८ जना नयाँ क्यान्सर रोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो ।

सो अवधिमा स्तन क्यान्सर आठ सय ७१, पाठेघरको क्यान्सर एक सय ९२, फोक्सो÷श्वासनलीको क्यान्सर चार सय ४४, अन्ननलीको क्यान्सर एक सय ५२, पेटको क्यान्सर एक सय चार जनामा देखिएको स्वास्थ्य कार्यालय झापाको तथ्यांक छ ।
त्यस्तै, थाइरोइड क्यान्सर ३५, कलेजोको क्यान्सर ६८, प्यान्क्रियाटिक क्यान्सर ७९, हड्डी÷अस्थिपन्जरको क्यान्सर चार सय २२, पित्तथैलीको क्यान्सर एक सय ७४, कोलोरेक्टल (कोलोन र मलाशयको क्यान्सर) दुई सय आठ, मुखको क्यान्सर छ सय २३, लिम्फोमा क्यान्सर दुई सय ४९ र डिम्बग्रन्थिको क्यान्सर चार सय ६७ जनामा देखिएको छ ।
यस्तै, पिसाब थैलीको क्यान्सर ६५, नासोफरिन्क्स क्यान्सर ८०, टाउको र घाँटीको क्यान्सर एक सय ८१, रक्तजन्य क्यान्सर रोग तीन सय ३५ जनामा र अन्य क्यान्सर पाँच सय ७९ जनामा देखिएको कार्यालयले जनाएको छ ।
क्यान्सर रोगीको संख्या बढ्दै
झापामा क्यान्सर रोगीको संख्या वर्षेनी वृद्धि हुँदै गएको छ । विगत अढाई वर्षको तथ्याङ्क हेर्दा झापामा क्यान्सर रोगीको संख्या वृद्धि हुँदै गएको देखिन्छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को छ महिना (साउनदेखि पुस मसान्तसम्म) मा एक हजार चार सय ४० जना नयाँ क्यान्सर रोगी फेला परेको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका आठ सय ३९ जना महिला र छ सय एक जना पुरुषमा विभिन्न प्रकारका क्यान्सरका रोग देखिएको उहाँले बताउनुभयो ।
आव २०८१/८२ मा एक हजार छ सय ८५ नयाँ क्यान्सर रोगी फेला परेका थिए । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा करिब झण्डै ५० प्रतिशतले क्यान्सर रोगीको संख्या वृद्धि भएको देखिन्छ । गत आर्थिक वर्ष २०८०÷८१ मा जिल्लामा दुई हजार एक सय तीन जना नयाँ क्यान्सर रोगी फेला परेका थिए ।
“अघिल्लो वर्षको तुलनामा यो वर्ष क्यान्सर रोगीको संख्या बढ्ने देखिन्छ”, जनस्वास्थ्य निरीक्षक श्रेष्ठले भन्नुभयो, “झापामा अन्यत्र जिल्लाबाट पनि क्यान्सर रोगको उपचारका लागि आउने भएकाले संख्या बढेको हुन सक्छ । सबै रोगी झापाकै हो भनेर भन्न सकिन्न । उपचार सहुलियतका लागि जिल्लाका पालिकाले सिफारिस गरेको संख्या चाहिँ जिल्लाभित्रै हुन्छ, त्यो तथ्यांक पनि संकलन हुँदैछ ।”
महिलामा क्यान्सर बढी
पुरुषको तुलनामा महिलामा बढी क्यान्सर रोग रहेको पाइएको छ । आर्थिक वर्ष २०८०÷८१ मा फेला परेका दुई हजार एक सय तीन जना क्यान्सर रोगीमध्ये एक हजार दुई सय ४८ जना महिला रहेका छन् । त्यस्तै, आव २०८१÷८२ मा फेला परेका एक हजार छ सय ८५ क्यान्सर रोगीमध्ये एक हजार ३१ जना महिला छन् । तथ्याङ्क हेर्दा पुरुषको तुलनामा महिलामा क्यान्सर रोगी धेरै देखिन्छ ।
स्तन क्यान्सर बढी
क्यान्सर रोगीमध्ये सबैभन्दा धेरै स्तन क्यान्सर रोगी रहेका छन् । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा मात्र दुई सय ५८ जनामा स्तन क्यान्सर देखिएको छ । जसमध्ये सात जना पुरुषमा स्तन क्यान्सर देखिएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा दुई सय ७७ जनामा स्तन क्यान्सर देखिएको थियो । तीमध्ये तीन जना पुरुष रहेका छन् ।
धुम्रपान र मध्यपान क्यान्सरको जड
विशेषगरी धुम्रपान र मध्यपान क्यान्सरको प्रमुख कारक रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताउनुभयो ।
अव्यवस्थित खानपान र जीवनशैली, विषादी युक्त खाना, पत्रु खाना लगायत क्यान्सरको कारक रहेको उहाँ बताउनुहुन्छ । जिल्लामा क्यान्सर रोग रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । स्वास्थ्य शिक्षा सञ्चालन, पाठेघरको मुखको क्यान्सर परीक्षण, एचपीभी खोप लगायतका कार्यहरु भइरहेको उहाँले बताउनुभयो ।

