
भद्रपुर, १ फागुन । भद्रपुर झापा गोल्डकपको दोस्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षता एवम् भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभालाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख पोखरेलले भद्रपुरमा ऐतिहासिक रुपमा गोल्डकपलाई स्थापित गर्न सफल भएको बताउनुभयो । सबैको साथ र सहयोगले रङ्गशालाले पुनर्जीवन पाएको बताउनु हुँदै उहाँले नगरबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
रङ्गशालाको स्तरोन्नतिका लागि बजेट सुनिश्चित गर्न मन्त्रालयमा निरन्तर पहल भइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेसराज भण्डारी ९प्रशान्त० ले गौचरणमा परिणत भएको रङ्गशाला सुविधा सम्पन्न बन्दै गएको बताउनुभयो । रङ्गशालाको स्तरोन्नतिका लागि हालै मात्र साढे ११ करोड रुपैयाँ बजेट आएको र सो बजेट कार्यान्वयनको चरणमा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले २०८३ फागुन ७ देखि १६ गतेसम्म गोल्डकपको तेस्रो संस्करण अझ व्यवस्थित रुपमा गरिने जानकारी दिनुभयो । व्यवस्थित प्यारापिट र फ्लडलाइटसहित गोल्डकप आयोजना हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा गोल्डकपका कोषाध्यक्ष अजय साहेवला र सचिव तीर्थराज ढकालले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव जीवन कुमार श्रेष्ठले गर्नुभएको थियो।
भद्रपुर झापा गोल्डकपको पहलकदमीमा बिजी रङ्गशालाको खेलमैदानको स्तरोन्नति, झापा जिल्ला खेलकुद विकास समितिको भवन जीर्णोद्वार लगायतका कार्यहरू भएको जनाइएको छ।
साधारण सभामा प्रदेश सभा सदस्य मोहन महर्जन, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, जनप्रतिनिधि विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, गोल्डकपका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

