
बिर्तामोड, ४ फागुन । झापाको बिर्तामोडमा जारी सातौं एक्सट्रिम झापा गोल्डकपको उपाधिमाथि आज मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब अन्तिम प्रतिस्पर्धा गर्दैछन् ।
यहाँस्थित डोमालाल राजवंशी रंगशालामा भइरहेको प्रतियोगितामा दुई प्रतिस्पर्धी टिम मच्छिन्द्र र एपीएफले उपाधि आफूले हात पार्ने दाबीसमेत प्रस्ततु गरिसकेका छन् ।

झापा गोल्डकपको विजेताले नगद रू १५ लाख, उपबिजेताले रू सात लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल पाउने छ भने फाइनलका उत्कृष्ट प्रशिक्षक, स्ट्राइकर र गोलकिपरले जनही रू ३५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा टिकट काटेर फुटबल हेर्ने एक जना दर्शकलाई गोलाप्रथाबाट यामाहा कम्पनीको एउटा स्कुटर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

