
भद्रपुर, ७ माघ । राष्ट्रिय समाचार समिति (रासस) ले प्रवाह गर्ने समाचार सामग्रीमा थप विविधिकरण गर्नुपर्नेमा जोड दिइएको छ ।
राससको ६५ औं वार्षिकोत्सवको अवसरमा झापाको भद्रपुरमा बुधबार आयोजित ‘स्थानीय सञ्चारमाध्यम र रासस सेवाग्राही प्रवद्र्धन’ विषयक अन्तरक्रियाका सहभागीले समाचार सामग्री थप विविधिकरण गर्नुपर्नेमा जोड दिइएको हो ।

साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले राससले विभिन्न प्रकारका ‘विट पत्रकारिता’लाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । “औपाचारिक समाचारभन्दा पनि खोजमूलक विट पत्रकारितालाई राससले प्राथमिकता दिन जरुरी छ”, उहाँले भन्नुभयो, “यसले राससको सेवाग्राही प्रवद्र्धनमा ठूलो टेवा मिल्नेछ ।”
नयाँ सन्दर्भ साप्ताहिकका सम्पादक गोविन्दचन्द छेत्रीले कोरोनापछि सञ्चार क्षेत्र संकटपूर्ण अवस्थामा रहेकाले राससले त्यस्ता सञ्चार संस्थालाई ग्राहक बनाउँदा विशेष सहुलित दिनुपर्नेमा जोड दिनुभयो । “मान्छेबाट कोरोना हट्यो तर अहिले पत्रपत्रिका कोरोना लागेर आइसीयूमा भर्ना भएको अवस्था छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा रासससँगै सञ्चारमाध्यमहरुको समेत प्रबद्र्धन हुने खालको कार्यक्रम ल्याउन जरुरी छ ।”
पत्रकर ज्ञानेन्द्र निरौलाले रेडियोका लागि निर्धारण गरिए अनुसारकै शुल्कमा अनलाइन सञ्चारमलाई सेवा दिनुपर्नेमा जोड दिनुभयो । पत्रकार योगेश खपाङ्गीले समाचारका लागि रासस विश्वसीय स्रोत भएको बताउनुहुँदै खोजमूलक समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले राससले कार्टुन पनि प्रकाशन गर्नुपर्ने सुझाव दिनुभयो ।
पत्रकार लेखनाथ परदेशीले राससले सरकारको भन्दा जनताको समाचार बढी प्रकाशन गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, नौलो आवाज साप्ताहिकका सम्पादक दिपक अधिकारीले पछिल्लो समय राससको गुणस्तर वृद्धि भएको बताउनुहँदै शुल्क घटाउनुपर्नेमा जोड दिनुभयो ।
अग्रज पत्रकार राजेश ढुंगानाले रासस सरकारी सञ्चार संस्था भएकाले सरकारले नै राससलाई बलियो पार्न लाग्नु पर्नेमा जोड दिनुभयो । लोकतन्त्र पोष्टका सम्पादक मोहन काजीले राससको सेवा सस्तो र गुणस्तरीय हुनुपर्ने जोड दिँदै स्थानीय समाचारलाई बढी प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । उहाँले रासस प्रदेश प्रोटोल सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
स्वतन्त्र आवाज साप्ताहिकका प्रधान सम्पादक देवेन्द्र किशोर ढुंगानाले विगतको तुलनामा राससमा धेरै सुधार भएको बताउनुभयो । उहाँले औपचारिक समाचार भन्दा विश्लेषणात्मक समाचार राससमा आए ग्राहक बढ्ने उल्लेख गर्नुभयो ।
सुखानी सन्देश साप्ताहिकका प्रधानसम्पादक राजु पाठकले कोभिडपछि मिडियाहरु थलिएकाले राससले सेवा शुल्क थप सर्वसुलभ बनाउनुपर्ने बताउनुभयो । साप्ताहिक समाचारका सम्पादक राजबाबु शंकले राससको सेवा शुल्क न्यूनतम र सञ्चारमाध्यम मैत्री हुनुपर्ने बताउनुभयो । उहाँले हालको वर्तमान अवस्थालाई बुझेर दररेट कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
अन्तरक्रियामा पत्रकार खगेन्द्र भण्डारी, इशा प्रधान, पार्थ मण्डल, जकन राजवंशी लगायतले विभिन्न सुझाव एवम् जिज्ञासा राख्नुभएको थियो ।
रासस भद्रपुरका कार्यालय प्रमुख दिपक चन्दले कार्यक्रममा सहभागीलाई स्वागत गर्नुहुँदै राससले प्रवाह गर्ने सेवा, शुल्कका लगायतका विषयमा जानकारी गराउनुभएको कार्यक्रमको सहजीकरण राससकर्मी अम्बिका भण्डारीले गर्नुभएको थियो ।

