
सन्तोष शर्मा
झापा, ७ फागुन । झापामा सात महिनामा करिब साढे २६ हजार मेट्रिक टन रासायनिक मल बिक्री भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड र साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड बिर्तामोडले चालू आर्थिक वर्ष २०८२÷०८३ को सात महिना (साउनदेखि माघ) मा रासायनिक मल युरिया, डीएपी र पोटास २६ हजार चार सय ५५ दशमल ४ मेट्रिक टन बिक्री गरेको हो ।

कृषि सामग्रीले सो अवधिमा १९ हजार तीन सय ६६ मेट्रिक टन र साल्ट टे«डिङले सात हजार ८९ दशमल ४ मेट्रिक टक रासायनिक मल बिक्री गरेको छ ।
कृषि सामग्रीमार्फत युरिया १२ हजार सात सय दुई दशमलव पाँच मेट्रिक टन, डीएपी छ हजार तीन सय ५० दशमलव ८ मेट्रिक टन, पोटास तीन सय १२ दशमलव ७ मेट्रिक टन र कृषि चुन ७७ दशमलव ४७५ मेट्रिक टन बिक्री गरिएको कम्पनी बिर्तामोडका प्रमुख दीपक कुमार राजवंशीले जानकारी दिनुभयो ।
अघिल्लो वर्षको तुलनामा मल बिक्री बढेको बताउनुहुँदै कार्यालय प्रमुख राजवंशी भन्नुभयो, “युरियाको माग धेरै छ ।” कृषि सामग्रीले गत आर्थिक वर्ष ८१÷८२ मा युरिया १२ हजार ७७ दशमलव ७ मेट्रिक टन, डीएपी सात हजार ९१ दशमलव नौ मेट्रिक टन, पोटास आठ सय ४२ दशमलव २ मेट्रिक टन र कृषि चुन आठ सय एक दशमलव ०७५ मेट्रिक टन बिक्री गरेको थियो ।
साल ट्रेडिङ कर्पोरेसन बिर्तामोडका प्रमुख विष्णुप्रसाद न्यौपानीले युरिया, डीएपी र पोटासको बिक्री बढेको बताउनुभयो । गत आर्थिक वर्ष २०८१÷०८२ कै हाराहारीमा चालु आर्थिक वर्षको सात महिनाकै अवधिमा रासायनिक मल बिक्री भइसकेको उहाँ बताउनुहुन्छ ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा युरिया तीन हजार पाँच सय ५३ दशमलव ८५ मेट्रिक टन, डीएपी तीन हजार एक सय ६३ दशमलव ७५ र पोटास तीन सय ७१ दशमलव ८ मेट्रिक टन बिक्री भएको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष २०८१÷०८२ मा युरिया चार हजार दुई सय १७ दशमलव ४, डीएपी एक हजार नौ सय ३३ दशमलव ४५ र पोटास तीन सय ७८ दशमलव ३ मेट्रिक टन बिक्री भएको थियो ।
सन्तुलित मात्रामा प्रयोग गर्नमा जोड
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्ट सन्तुलित मात्रामा रासायनिक प्रयोग गर्नुपर्नेमा जोड दिनुहुन्छ । डीएपी, पोटास, युरिया र गोबर मलको प्रयोग सन्तुलित मात्रामा गर्न सके माटोको उर्वरा शक्तिमा खासै कमी नआउने उहाँ बताउनुहुन्छ ।
जिल्लामा मकै खेती गर्ने क्रम बढेकाले किसानहरुले मकैमा युरियाको प्रयोग बढाएको उहाँले बताउनुभयो । “अहिले युरियाको प्रयोग निकै बढेको छ”, उहाँले भन्नुभयो, “एउटै मलको प्रयोग धेरै प्रयोग गर्दा माटो अम्लीय हुन्छ ।”
युरियाले नाइट्रोजन, डीएपीले फस्फोरस र पोटासले पोटासियम दिने भएकाले सन्तुलित मात्रामा गर्न सके माटोको गुणस्तरमा खासै असर नगर्ने उहाँले बताउनुभयो । माटो परीक्षणका क्रममा किसानलाई सोही अनुरूपको सुझाव समेत दिँदै आएको कार्यालय प्रमुख बिष्टले बताउनुभयो ।

