
सुर्खेत, २७ फागुन । सुर्खेतको वीरेन्द्रनगर–४ जनजागरण सामुदायिक वनमा शनिबार एक किशोरीको शव फेला परेको छ।
प्रहरी अनुसन्धानपछि शव वीरेन्द्रनगर–१ की १६ वर्षीया एनिशा विकको भएको पुष्टि भएको छ। उनी कक्षा ११ मा अध्ययनरत थिइन्। शनिबार बिहान विद्यालयमा प्रयोगात्मक परीक्षा दिन्छु भन्दै घरबाट निस्किएकी एनिशा केही घण्टामै वनमा मृत अवस्थामा भेटिएकी हुन्। आमालाई ‘छिट्टै फर्किन्छु’ भनेकी उनी विद्यालयमा भने उपस्थित भएकी थिइनन्।

आफन्तले खोजी गर्ने क्रममा एनिशा वनमा अचेत अवस्थामा भेटिएकी थिइन्। अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार एनिशा विद्यालयका एक किशोरसँग प्रेम सम्बन्धमा थिइन्। घटनामा संलग्न भएको आशंकामा प्रहरीले वीरेन्द्रनगर–९ लाटिकोइलीका एक किशोरसहित चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबै १८ वर्षमुनिका रहेका प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार एनिशा र पक्राउ परेका एक किशोरबीच सामाजिक सञ्जालमा नियमित सम्पर्क हुने गरेको पत्ता लागेको छ। तर हत्या किन गरियो भन्ने कारण खुल्न बाँकी छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी महोनजंग बुढथापाले घटनामा संलग्न आशंकामा रहेका अन्य तीनजनालाई पनि नियन्त्रणमा लिइएको जानकारी दिए। ‘पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ। अनुसन्धान जारी छ,’ उनले भने ।
मृतकका आफन्तले बलात्कारपछि हत्या गरिएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता गरेका छन् । उनीहरूले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

