
झापा, ४ चैत । चालू आर्थिक वर्ष २०८२/८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब रहेकोमा फागुन मसान्तसम्ममा बढेर २८ खर्ब ७८ अर्ब पुगेको छ। पछिल्लो आठ महिनामा मात्र दुई खर्बभन्दा बढी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
यस अवधिसम्ममा आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब र बाह्य ऋण १५ खर्ब ३० अर्ब बाँकी छ। कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत छ। हालसम्मको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४७.१३ प्रतिशत बराबर पुगेको छ।
सरकारले चालू वर्षमा पाँच खर्ब ५९ अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखेकामा फागुन मसान्तसम्ममा दुई खर्ब ९५ अर्ब उठाइसकेको छ, जुन वार्षिक लक्ष्यको ५०.४४ प्रतिशत हो। आन्तरिकतर्फ ६७.३१ प्रतिशत लक्ष्य पूरा भएको छ भने बाह्यतर्फ मात्र २४.३१ प्रतिशत ऋण उठाइएको छ।
यस वर्ष ऋणको साँवा–ब्याज तिर्नका लागि चार खर्ब ११ अर्ब विनियोजन गरिएकोमा फागुन मसान्तसम्ममा दुई खर्ब ४२ अर्ब भुक्तानी भइसकेको छ, जुन वार्षिक विनियोजनको ५८.९४ प्रतिशत हो।



