
बिर्तामोड, १० चैत । झापामा पिकल बल नामको खेल भित्रिएको छ । अमेरिकाबाट विकास भएको यो खेल नेपालको काठमाण्डौ, ललितपुर तथा पोखरामा नियमित सञ्चालनमा आएपनि पूर्वको झापामा पहिलो पहिलो पटक यो खेल प्रतियोगिताका रुपमा सञ्चालनमा आएको हो ।
अर्जुनधारा–६ को गामास्ता स्पोर्टस हबमा भएको प्रतियोगिता दुई दिनसम्म सञ्चालमा आएको थियो । मेन्स सिंगल, मेन्स डबल, वुमन्स सिंगल, वुमन्स डबल र मिक्स डबलको आधारमा प्रतियोगिता आयोजना भएको थियो ।
राउण्ड टेबल नेपाल र गामास्ता स्पोर्टस हबको आयोजनामा भएको प्रतियोगिताको मेन्स डबलमा अन्सुल बंशल र विजय कार्कीको जोडी प्रथम भएको छ । प्रतियोगितामा रोहन कार्की र अनुप लामाको जोडी उपबिजेता बनेको छ ।
यस्तै मेन्स सिंगलमा बिनोम ढकाल प्रथम र अन्सुल बंशल दोस्रो भए । मिक्स डबलमा अनुयोग राज ढकाल र सुमिती लामाको जोडी प्रथम तथा ओसिन तामाड र बिनोम ढकालको जोडी दोस्रो भए ।
यसैगरी वुमन्स सिंगलमा मनिषा ढकाल बिजेता र सुमिती लामा उपिबजेता भए । वुमन्स डबलमा दिब्या अग्रवाल र मनिषा ढकालको जोडी प्रथम र ओसिन तामाड र सुमिती लामाको जोडी दोस्रो भएको थियो ।
प्रतियोगतामा कुल ४९ वटा खेलहरु भएका थिए । प्रत्येक प्रतियोगिता बेष्ट अफ ३ का आधारमा सञ्चालन भएको आयोजक राउण्ड टेबल नेपालका अध्यक्ष बिकास अग्रवालले जानकारी दिए । प्रतियोगिताको बिजेतालाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारको व्यवस्था गरिएको थियो । प्रतियोगितामा ७० जना खेलाडीको सहभागिता रहेको प्रतियोगिताका संयोजक अन्सुल बंशलले जानकारी दिए ।
राउण्ड टेबल नेपाल शिक्षा र सामुदायिक सेवामा केन्द्रित युवाद्वारा सञ्चालित संस्था हो । यसले आफ्ना विभिन्न पहलमार्फत देशभर अर्थपूर्ण रुपमा सामाजिक प्रभाव पार्दै आएको छ। यसअन्तर्गत बिर्तामोड राउण्ड टेबल(२७ ले स्थानीय स्तरमा सक्रिय भूमिका निर्वाह गर्दै विभिन्न प्रभावकारी कार्यक्रम तथा सेवा परियोजनाहरू सञ्चालन गर्दै आएको छ।
के हो पिकल बल ?
पिकल बल एउटा रमाइलो र सजिलो खेल हो, जसले टेनिस, ब्याडमिन्टन र टेबल टेनिस को मिश्रण जस्तो अनुभव दिन्छ।
यो खेल कस्तो हुन्छ ?
यो खेल ब्याडमिन्टन कोर्ट जस्तै सानो कोर्टमा खेलिन्छ । यसको नेट टेनिसभन्दा अलिकति होचो हुन्छ । खेलाडीले र्याकेट जस्तो प्याडल र प्लास्टिकको हलुका छिद्र भएको बल प्रयोग गर्छन् । यो खेल एक्लै वा दुई(दुई जनाको टोलीमा पनि खेल्न सकिन्छ
खेलका मुख्य नियमहरू
बल सर्भिस गर्दा तलबाट (अण्डरह्याण्ड सर्भिस) हानिन्छ । सर्भिस गरेपछि बल दुई पटक जमिनमा ठोकिनु पर्छ । नेट नजिकको क्षेत्रलाई “किचन जोन” भनिन्छ, त्यहाँ उभिएर सिधै भली हान्न पाइँदैन । अंक केवल सर्भिस गर्ने टिमले मात्र पाउँछ । एक सेट खेल सकिन ११ अंक पाएको हुनुपर्छ । बिजेता अंकमा दुईको फरक हुनुपर्ने नियम यसमा छ ।
यो खेल किन लोकप्रिय छ ?
सिक्न सजिलो भएका कारण यो खेल लोकप्रिय छ । धेरै दौडधुप नचाहिने । सबै उमेरका खेलाडीले खेल्न सक्ने । छिटो खेल सकिने र साथीहरूसँग रमाइलो गर्न मिल्ने भएका कारण यो खेल लोकप्रिय हुँदै गएको छ ।


