
भद्रपुर, २४ चैत । नेपाल सरकारको हालैको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, भद्रपुर एकाइ समितिले भू–सेवा बन्द गरेका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेश निषेध गर्ने निर्देशन दिएपछि झापास्थित मालपोत तथा नापी कार्यालयमा कडाइ गरिएको छ। यस कदमलाई व्यवसायीहरूले पेसागत अधिकारमाथि हस्तक्षेप भन्दै विरोध गरेका छन्।
समितिले सोमबार दिउँसो १२ बजेदेखि सेवा बन्दको घोषणा गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। अध्यक्ष निरोज पोखरेल र सचिव मुरारी न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखापढी व्यवसायीहरूले कानुनी प्रक्रिया पूरा गरी अनुमति प्राप्त गरी पेसा सञ्चालन गर्दै आएको उल्लेख छ।
व्यवसायीहरूले राज्यका न्यायिक तथा अर्धन्यायिक निकायबाट पेसागत मर्यादाविपरीत व्यवहार भएको, अनावश्यक आरोप लगाइएको भन्दै असन्तुष्टि प्रकट गरेका छन्। समस्याहरू समाधान नभएसम्म सम्पूर्ण लेखापढी व्यवसाय र भू–सेवा केन्द्रहरू बन्द गर्ने चेतावनी पनि दिइएको छ।
यसअघि सेवाग्राहीबाट ३००–५०० रुपैयाँ लिएर भू–सेवा दिँदै आएका व्यवसायीहरूले बुधबारदेखि पूर्णरूपमा सेवा बन्द गर्ने घोषणा गरेका छन्। यसले सेवाग्राही थप मारमा पर्ने देखिएको छ।
यता मालपोत कार्यालय झापाका प्रमुख सुवास श्रेष्ठले सेवाग्राहीलाई सेवा प्रवाह निरन्तर गर्ने बताएका छन्। उनका अनुसार, ‘कार्यालय बाहिर भू–सेवा बन्द भए पनि कार्यालयभित्रै डेक्स स्थापना गरी कर्मचारी व्यवस्थापन गरेर सेवा दिन्छौं।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


