
भद्रपुर, ३ बैशाख । झापाको भद्रपुरमा प्रथम फर्कियो जोवन भेट्रान्स कप फुटबल प्रतियोगिता अन्तरगत आज सेमिफाइनलका खेलहरु हुँदैछन् ।
नववर्ष २०८३ को अवसरमा लागुऔषध दुव्र्यसनविरुद्धको अभियानअन्तर्गत भारतसँगको सीमा नदी मेची नदीको किनारमा रहेको भद्रपुर–४ स्थित मेची ग्राउण्डमा फर्कियो जोवन फुटबल क्लवको आयोजनामा बुधबारदेखि प्रतियोगिता शुरु भएको छ । एक समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गाण्ेश पोखरेलले निर्णयकलाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।
क्लवका अध्यक्ष विश्वराज थापाको अध्यक्षतामा उपाध्यक्ष रोहित काफ्लेले सञ्चालन गरेको उद्घाटन समारोहमा प्रमुख अतिथि नगरप्रमुख पोखरेल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रतियोगिताको मुख्य पयोजक ओम साई पाथिभरा हस्पिटलका प्रवन्ध निर्देशक बालकुमार पोखरेल, भद्रपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष हेमबहादुर कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए । समारोहमा भद्रपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष रामबहादुर कँडेल, वडा नं ५ का वडाध्यक्ष बन्धु कार्की, वडा नं ९ का वडाध्यक्ष रामप्रसाद दाहाललगायतको सहभागिता थियो ।
झापाका ८ वटा भेट्रान्स टिमको सहभागिता रहेको प्रतियोगिताको पहिलो दिन ४ वटा खेल सम्पन्न भएको आयोजकले जनाएको छ । ढल्के जोवन फटबल क्लव भद्रपुर २ र चन्द्रगढी भेट्रान्स क्लव भद्रपुर १० बीच भएको उद्घाटन खेलमा चन्द्रगढी विजयी भयो भने सिरीजंघा स्पोर्टिङ क्लव भद्रपुर ३ र तुर्केनी स्पोर्टस् क्लव काँकरभिट्टाबीच भएको दोस्रो खेलमा तुर्केनी विजयी भयो ।
यस्तै, हिमाली युनाइटेड क्लव भद्रपुर १ र नाइटचेस क्लव काँकरभिट्टाबीच भएको प्रतिस्पर्धामा नाइटचेस विजयी भयो भने आयोजक फर्कियो जोवन फुटबल क्लव र हल्दिबारी फुटबल क्लवबीच भएको अन्तिम खेलमा हल्दिबारी विजयी भयो ।
बिहीबार दुईवटै सेमीफाइनलका खेल हुनेछन् भने शुक्रबार फाइनल खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद रु ३० हजारसहित शील्ड पप्त गर्नेछ भने उपविजेताले रु २० हजारसहित शील्ड पाउनेछ । प्रथम पुरस्कारको सौजन्य झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा निर्माण व्यवसायी राजकुमार राईले सौजन्य गरेका छन् भने दोस्रो पुरस्कारको सौजन्य भद्रपुर ४ निवासी बमबहादुर कोइरालाले सौजन्य गरेको आयोजक क्लवका सचिव अभिषेक लिम्बूले जानकारी दिए ।


