
भद्रपुर, १२ बैशाख । झापाको भद्रपुरमा यही बैशाख १८ गते हुन लागेको ‘टुर दि भद्रपुर–२०८३’ साइकल यात्राको तयारी पूरा भएको छ । पर्यटन प्रबद्र्धनसँगै भद्रपुर नगरको पहिचान देश–विदेशमा पु¥याउने उद्देश्यले आयोजना हुन लागेको करिब ६७ किलोमिटर टुर दि भद्रपुर–२०८३ साइकल यात्राको तयारी पूरा भएको हो ।
बैशाख १२ गते भद्रपुर नगरपालिकाको सभाहलमा आयोजित ‘तयारी पूरा बैठक तथा पत्रकार भेटघाट कार्यक्रममा’ भद्रपुर साइकल समाज झापाका अध्यक्ष जीवनकुमार श्रेष्ठले टुर दि भद्रपुर–२०८३ साइकल यात्राको तयारी पूरा भएको जानकारी दिनुभयो ।
साइकल यात्रामार्फत् झापाका तीन वटा पालिका भद्रपुर, कचनकवल र हल्दिबारीका विभिन्न ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा पुरातात्विक क्षेत्रहरु प्रबर्धन र पहिचान देश–विदेशमा पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

साइकल यात्रामा १५ वर्षमाथि उमेर समूहका नेपाल, भारत र भुटानका करिब ३०० जना साइकल यात्रीको सहभागितामा रहने उहाँले बताउनुभयो । भद्रपुरका ८० र अन्यत्रका ११० गरी २९० जना साइकल यात्रीले सहभागिता लागि नाम दर्ता गराइसकेको उहाँले बताउनुभयो ।
साइकल यात्राका लागि करिब रू आठ लाख खर्च हुने अनुमान गरिएको छ । कार्यक्रमका लागि भद्रपुर नगरपालिकाले रू दुई लाख ४० हजार, भद्रपुर वडा नं. ५ को कार्यालयले रू दुई लाख ५० हजार आर्थिक सहयोग गरेको छ भने विभिन्न संघसंस्था, व्यक्तिहरुले नगद तथा जिन्सी सहयोग गरेको कार्यक्रम संयोजक भूवन गिरीले जानकारी दिनुभयो ।
यस्तो छ साइकल यात्राको रुट
भद्रपुर नगरपालिका कार्यालय परिषरबाट शुरु भई संगमचोकबाट भद्रपुर वडा नं. ५. कार्यालय–बजार–बुद्ध मन्दिर–डाँगीबारी–महाभारतकालीन सभ्यताको पहिचान किच्चकबध पुरातात्विक स्थल–कमलधाप संयुक्त धार्मिक स्थल–बिसाल÷दियालो र दशरथपुर सामुदायिक वन क्षेत्र पुग्ने रुट तय गरिएको छ ।
त्यस्तै, बनियानी बजार हुक्काहुक्की चोकहुँदै नेपालको होचो भुभाग कचनकवल स्तम्भबाट फर्केर धारापानी हुँदै सुकुनाडिगी पश्चिम बगानबजार दुर्गाभिटा सामुदायिक वन, जैविक विविधतायुक्त जलथलको हरियो वन, हरियाली पाथिभरा कालिका सामुदायिक वन हुँदै पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकीय क्षेत्र, ढडुवाचोक पाराखोपी बजार भेलागुडी सिमसार क्षेत्र हुँदै झोलुङ्गे पुल–कलवलगुरी प्रादेशिक अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कमलचोक, विपि चोक धनुषमोड हँुदै चन्द्रगढी बजारबाट महेन्द्र उद्यान सगरमाथा चोक पुग्ने रुट तय भएको आयोजकले जनाएको छ ।
जर्सी र मेडल सार्वजनिक
तयारी पूरा बैठक तथा पत्रकार भेटघाट कार्यक्रममा साइकल यात्राको जर्सी र मेडल सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि भद्रपु नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, विशेष अतिथि उपप्रमुख राधा कार्की, भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्की, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, समाजका अध्यक्ष जीवन श्रेष्ठ लगायतले जर्सी र मेडल सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख पोखरेल, उपप्रमुख कार्की, वडाध्यक्ष कार्की र भद्रपुर झापा गोल्डकपका अध्यक्ष ढकालले शुभकामना मन्तव्य राख्नु हुँदै कार्यक्रम सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
समाजका उपाध्यक्ष जितेन्द्रकुमार शर्माले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन आरोग्य तिम्सिनाले गर्नुभएको थियो । टुर दि भद्रपुरको उद्घाटन बैशाख १८ गते शुक्रबार बिहान ६ः३० बजेदेखि भद्रपुर नगरपालिका नगर प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा नगरप्रमुख पोखरेल, वडाध्यक्ष कार्की, रेडक्रस सोसाइटी भद्रपुरका सभापति केदार महत, वडा सदस्य जेष्ठमल ठाकुर लगायतले भद्रपुर साइकल सामाज झापाको आजीवन सदस्यता लिने घोषणा गर्नुभएको थियो ।



