
शिवसताक्षी, ७ जेठ । झापाको शिवसताक्षीमा जारी चौथो स्वर्गीय कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ अन्तर्गत बिहीबार सम्पन्न दुवै खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेका छन्।
दुधे रंगशालामा भएको पहिलो खेलमा दमक लखनपुर भेट्रानले मेची भेट्रानलाई ४–३ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गरेको छ। गोल वर्षा भएको खेलमा दमकले पहिलो हाफमै खेलमा स्पष्ट दबाब बनाएको थियो भने दोस्रो हाफमा मेचीले उत्कृष्ट पुनरागमनको प्रयास गरेको थियो।
दमक लखनपुरका सुभाष लिम्बू खेलका नायक बने। उनले खेलको २, २१ र २६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। दमकका लागि अर्को गोल तुला मगरले १७ औं मिनेटमा थपेका थिए।
मेची भेट्रानका सुरज लिम्बूले ७ औं मिनेटमा गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाएका थिए। त्यसपछि दिनेश लिम्बूले ३९ औं मिनेटमा तथा सुरेन्द्र राईले अतिरिक्त समयमा गोल फर्काए पनि मेची हार टार्न सफल भएन। उत्कृष्ट प्रदर्शन गरेका सुभाष लिम्बू ‘म्यान अफ दि म्याच’ घोषित भए।
त्यसैगरी दोस्रो खेलमा विराट भेट्रान क्लबले धरान सिटी भेट्रानलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा धरानले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। खेलको १४ औं मिनेटमा विराटका खेलाडीबाट भएको आत्माघाती गोलमार्फत धरानले अग्रता बनाएको थियो।
तर खेलको २० औं मिनेटमा विराटका डेनिम राईले बराबरी गोल फर्काए। त्यसको दुई मिनेटपछि तिलराम मगरले गोल गर्दै विराटलाई अग्रता दिलाए। खेलको अन्तिम अतिरिक्त समयमा धरानका गोलरक्षकले डी–बक्सभित्र फउल गरेपछि विराटले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई डेनिम राईले सदुपयोग गर्दै व्यक्तिगत दोस्रो गोल गरे। उत्कृष्ट प्रदर्शन गरेका डेनिम राई ‘म्यान अफ दि म्याच’ घोषित भए।
भोलिको खेल तालिका अनुसार बुधबार वर्षाका कारण अवरुद्ध भएको आयोजक दुधे भेट्रान रातो र कनकाई भेट्रानबीचको खेल दिउँसो २ बजेबाट सञ्चालन हुने आयोजकले जनाएको छ।
त्यसैगरी निर्धारित तालिका अनुसार झिलझिले भेट्रान र बौद्ध भेट्रानबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेल श्रीजंगा भेट्रान र चारपाने भेट्रानबीच हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद रु. १ लाख ५१ हजार तथा उपविजेताले रु. ८१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।


