
भद्रपुर, ८ जेठ । भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद सञ्चालनका लागि फ्लडलाइट जडान प्रक्रिया अघि बढाइएको छ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३ करोड ५० लाख बजेट विनियोजन गरेपछि परियोजनाले गति लिएको हो ।
फ्लडलाइट जडानका लागि कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको छ । परियोजना सम्पन्न भएपछि मेची रङ्गशालामा रात्रिकालीन फुटबल तथा अन्य खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहज हुने बताइएको छ ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले मेची रङ्गशालालाई आधुनिक र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडान सुरु गरिएको बताए । पछिल्लो समय भद्रपुरमा ‘भद्रपुर गोल्डकप’ लगायत अन्तरराष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना हुँदै आएका छन् ।


