
झापा, ८ जेठ । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित अर्जुनधारा नगरस्तरीय खेल मैदानमा प्यारापिट निर्माण कार्य शुरु भएको छ ।
अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन तामाङले प्यारापिटको शिलान्यास गर्नुभएसँगै निर्माण कार्य शुरु भएको हो । खेलकुदले मानिसलाई अनुशासित र स्वास्थ्य बनाउने भएकाले असल र सफल नागरिक निर्माणमा खेलकुद महत्व धेरै रहेकाले नगरले समेत खेल क्षेत्रलाई विशेष प्राथमिकतामा उहाँले बताउनुभयो ।
प्यारापिट निर्माणको काम सम्पन्न भएसँगै राष्ट्रियस्तरको महिला र पुरुष गोल्डकप फुटबल प्रतियोगिता आयोजनाको लक्ष्य राखिएकाले सात महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का आह्वान गरिएको नगरप्रमुख गोम्देनले बताउनुभयो । समयमै गुणस्तरीय काम गरेर हस्तान्तरण गर्न उहाँले निर्माण कम्पनीलाई आग्रह समेत गर्नुभयो ।
नगर खेलकुद विकास अन्तरगत अर्जुनधारा नगरपालिकाको ७० प्रतिशत र संघीय सरकारको ३० प्रतिशत लागतमा प्यारापिट निर्माणको कार्य शुरु गरिएको अर्जुनधारा नगरपालिकाका इन्जिनियर निरज अधिकारीले जानकारी दिनुभयो ।
प्यारापिटसँगै खेल मैदान वरिपरि नाला, मैदानमा घाँस रोपण र ‘फेन्सिङ बार’ (खेल मैदान क्षेत्रभरि घेराबारा) समेत निर्माण गरिने इन्जिनियर अधिकारी बताउनुभयो ।
उक्त कार्यका लागि नगरपालिकाले रू पाँच करोड २० लाख बराबरको ठेक्का आह्वान गरे पनि रू चार करोड ९४ लाख १७ हजार एक सय ८२.११ म ठेक्का लागेको छ । निर्माण कार्यको ठेक्का शेर्पा–थिङ–नुमा जेबी बिर्तामोड–५ ले भएको छ । निर्माण कार्यका लागि २०८३ वैशाख ३० गते ठेक्का सम्झौता भएको छ भने २०८३ मंसिर २८ गते निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।
निर्माण कम्पनीका सञ्चालक विजय सेन्दाङले समयमै गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाउनुभयो । प्याराफिट निर्माणका लागि अर्जुनधारा–७ का वडाध्यक्ष गोविन्द खतिवडाले भूमिपूजन गर्नुभएको थियो । नगर प्रमुख गोमदेनसँगै प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरे लगायतले शिलान्यास कार्यमा सहभागिता जनाउनुभएको थियो ।


