
गोरखा, ९ जेठ । यार्सागुम्बा टिप्न गएका गोरखाका एक जना युवाको भिरबाट लडेर मृत्यु भएको छ ।
आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु भएको हो ।
बुद्ध हिमालको फेदबाट यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा गत बुधबार भिरबाट लडेर मृत्यु भएको वडासदस्य विकास गुरुङले जानकारी दिनुभयो । प्रकाशको शव गाउँमा ल्याएर शुक्रबार गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको उहाँले बताउनुभयो ।
“आफ्नै चार दाजुभाई यार्सागुम्बा टिप्न गएका थिए । प्रकाश अघिअघि हिँडेका रहेछन्”, वडासदस्य गुरुङले भन्नुभयो, “तर, साँझमा बास बस्ने ठाउँमा नभेटेपछि खोज्ने क्रममा राति ग्ल्यासियरमा शव फेला परेको हो ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


